नयाँ दिल्ली । भारतको हरियाणा राज्यमा एउटा सरकारी विद्यालयमा छात्राहरुमाथि यौन शोषण भएको घटना सार्वजनीक भएको छ । हरियाणाको हिसार जिल्लास्थित एउटा गाउँमा रहेको सरकारी विद्यालयमा २४ जना छात्रामाथि यौन शोषण भएको खुलेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

छात्राहरुमाथि यौन शोषण गरेको आरोपमा प्रहरीले विद्यालयका ल्याब असिसटेन्ट, फिजिकल ट्रेनिङ्ग इन्स्ट्रक्चरलाई पक्राउ गरी हिरासतमा राखेको नवभारत टाईम्सले उल्लेख गरेको छ । यौन शोषण गरेको आरोप लागेका कम्प्यूटर विषयका शिक्षक भने फरार छन् ।

सुनीता यादव नाम गरेकी एक बालसंरक्षण अधिकारीले ती छात्राहरुमाथि भएको यौन शोषणको बारेमा प्रहरीलाई बताएकी थिईन् । उनका अनुसार विद्यालयमा तिनजना शिक्षकले गत अगस्टदेखी कक्षा ८ देखी १० सम्मका छात्राहरुको यौन शोषण गरिरहेका थिए।

यौन शोषणमा परेका बालिका र तिनका अभिभावकले विद्यालयका प्रधानाध्यापक र गाउँका मुखियालाई यसबारेमा भनेपनि घटना लुकाउन खोजीएको खुलेको छ। ति महिला अधिकारीलाई २४ जना बालिकाले दुई दिन अघि लिखित रुपमा आफूहरु यौन शोषणमा परिरहेको बारे जानकारी गराएका थिए।

ति शिक्षकहरुले घटनाबारे मुख खोले सजाय दिने र परिक्षामा समेत फेल गराईदिने धम्की दिएर यौन शोषण गरिरहेको बालिकाहरुले बताएका छन् । पुरै विद्यालयमा सिसीटिभी जडान गरिएपनि कम्प्यूटर ल्याब, म्याथ, साईन्स ल्याब, वाथरुमको आसपासका क्षेत्रलाई सीसिटीभिले समेटेको थिएन । त्यही बालीकाहरुमाथि यौन शोषण हुने गरेको समाचारमा जनाईएको छ ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल पुस ४ गते शुक्रवार ।