काठमाडौं। सर्लाहीको मलंगवाबाट काठमाडौं आउंदै गरेको बस धादिङको बेनिघाट रोराङ –३ सलाङघाटस्थित त्रिशुली नदीमा आज शुक्रवार विहान खसेको छ। खस्दा ३ जनाको मृत्यु भएको छ। १४ जनाको उद्धार गरिएको छ। २३ अझै बेपत्ता रहेका छन् ।

ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान साढे ३ बजेतिर त्रिशुली नदीमा खसेको धादिङ प्रहरीले जनाएको छ। बसमा ४० जना यात्रुहरु रहेको प्रारम्भिक अध्ययनबाट पत्ता लागेको घटनास्थलमा उद्धार गर्न पुगेका पमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयको भनाई रहेको छ।
बस आधा पानीमै डुबेको छ।

अप्ठ्यारो स्थानमा दुर्घटना भएकोले सुरक्षा निकाय र स्थानीयवासीहरुको सहयोगमा ३ जनाको शव निकालिएको छ। चालकसहित १२ जनाको जिवितै उद्धार गरिएको छ। मृतकहरु मध्ये २ जनाको मात्रै सनाखत भएको छ। सर्लाहीका ३५ वर्षीय अजय दास र विजय कुर्मीको मात्रै शव पहिचान भएको प्रहरीले जनाएको छ। उद्धार गरिएका घाइतेहरुलाई स्थानीय मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा प्राथमिक उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसमा सवार करिब २५ जनाको खोजीका लागि कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टिम परिचालन गरिएकोछ। उद्धार गरिएका सर्लाही हरिवनका बसचालक जीवन विकको अवस्था गम्भीर छ। बसका कण्डकटर ऋषि उप्रेती रसहचालकप्रमोद कुँवरको पनि उद्धार गरिएको छ। चालक विक बोल्न सक्ने अवस्थामा छैनन्। उप्रेती र कुँवर बोल्न सक्ने अवस्थामा भएपनि दुर्घटनाका कसरी भयो थाहा नभएको कान्तिपुरले उल्लेख गरेको छ।
प्रकाशन मिति–२०७६ साल साउन २४ गते शुक्रवार ।