काठमाडौं। नेपालका सहकारी अभियानको अग्रणी व्यक्तित्व दीपकप्रकाश बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित बनेका छन्। ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ, नेपालले बाँस्कोटालाई ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट शनिवार सम्मानित गरेको हो।

नगद पचास हजार सहित भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले बाँस्कोटालाई सम्मान प्रदान गरेको थियो। नेपालको सहकारी अभियानमा पुर्याएको योगदानको कदर स्वरुप ‘राष्ट्रिय सहकारी पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ। सहकारी ऐन–२०४८ र नियमावली निर्माण बाँस्कोटाकै नेतृत्वमा भएको थियो।

समुदायको सामाजिक आर्थिक विकासमा सहकारी जस्तो शसक्त माध्यम नभएको निष्कर्ष विदेश भ्रमणबाट निकालेपछि राजनीतिलाई अल्पविराम दिएर बाँस्कोटा जनतासँग प्रत्यक्ष जोडिएको सहकारी अभियानमा पूर्णत होमिएका थिए। उर्जा र शिक्षा सँगालेका युवा अनि नवीन र पहुँचयोग्य प्रविधिको उपलब्धताले सहकारीलाई समाजवादको सारथी बनाउन सकिने बाँस्कोटाको भनाई छ।

बाँस्कोटा पूर्व गृह राज्यमन्त्री, राष्ट्रिय सहकारी विकास बोर्डका प्रथम अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष समेत भैसकेका छन् । बाँस्कोटा सहकारी प्रारुपमा पाँचथरमा सञ्चालित कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष, महर्षि फाउन्डेशनका अध्यक्ष लगायत अन्य केही उद्योग व्यवसाय र सामाजिक संघ संस्थाहरुमा प्रत्यक्षपरोक्ष संलग्न छन् । बाँस्कोटा हाल सहकारीबाट सञ्चालित ललितपुरको महालक्ष्मीस्थान मार्गमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको पनि अध्यक्ष पदमा कार्यरत छन् ।
प्रकाशन मिति–२०७८ साल असार १९ गते शनिवार ।