काठमाडौं। सुदुरपश्चिम नेपालको टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई आज विहीवार सांसदको सपथग्रहण गराइएको छ। प्रतिनिधि सभाका सभामुख कृष्णवहादुर महराले चौधरीलाई सपथग्रहण गराएका हुन्।

सपथसँग सभामुख महराले चौधरीलार्इ सांसदको लोगोसमेत प्रदान गरेका छन्। काठमाडौंको डिल्लीबजार कारागारमा बन्दीका रुपमा रहेका चौधरीलाई सपथका लागि जेलबाट सिंहदरबार लगिएको थियो। चौधरीलाई कारगारबाट निकाल्दा चौधरीको स्वागतका लागि उनको पत्नी श्रीमती रन्जिता श्रेष्ठ चौधरी, आफन्तजन र राजपाका कार्यकर्ताहरुले फूलमाला लगाएर स्वागत गरेका थिए।

चौधरीले निर्वाचित भएको प्रमाणपत्र समेत पाएका छन्। विसं.२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडमा एक बालकसहित ८ जनाको हत्या भएको थियो। सो घटनाको मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि चौधरी फरार भएका थिए।

भारतका विभिन्न ठाउँमा लुकेर बसेका चौधरीले फरारकै अवस्था प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजय भएका थिए। राजपा नेपालले पटक पटक प्रधानमन्त्री ओलीलाई चौधरीको सपथका लागि दवाव दिँदै आएको थियो। सोही दवावका कारण प्रधानमन्त्री ओली चौधरीलाई सपथ खुवाउन तयार भएको खुल्न आएको छ।

शपथ पछि चौधरीलाई डिल्लीबजार कारागारमा नै चलान गरिएको छ। सांसदको शपथ खाएपनि चौधरीले प्रतिनिधिसभामा सांसदको रुपमा भाग भने लिन नपाउने भएको छ। चौधरीउपर लागेको आरोपले किनारा नपाएसम्म चौधरीलाई कारागारमा नै राखिने भएको छ।

प्रकाशन मिति–२०७५ साल पुस १९ गते विहीवार ।