–सुनकुमार अवाल
काठमाडौं। साउन महिनालाई हरियो महिनाको रुपमा लिइने गरेको छ। साउन भनेपछि हराबरा हुने मौसमको रुपमा मानिन्छ। अर्कोतर्फ साउनलाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भन्ने गरेको छ।

अझ साउनको सोमबार विशेष हुने गरेको छ। साउनको सोमवार हिन्दू महिलाहरु ब्रत बसेर शिवको आराधना तथा पूजाआजा गर्ने गर्दछन्। आज यो वर्षको साउनको अन्तिम सोमबार परेको छ। आज अन्तिम सोमवारका दिन सवैजसो हिन्दू मन्दिरहरुमा भक्तजनहरुको अपार भीड लाग्ने गरेतापनि यो बर्ष कोरोना कहरका कारण त्यति देखिएन।

भगवान पशुपतिनाथ लगायतका कतिपय शिव मन्दिरहरु बन्द छ। खुलेका कोटेश्वरको निखिलेश्वर महादेव मन्दिर, तारकेश्वर महादेव मन्दिर लगायतमा पनि सामाजिक दूरी कायम गरेर दर्शन गर्ने व्यवस्था गरिएको पाइएको छ। त्यस्तैगरेर, यी मन्दिरहरुमा प्रवेश गर्न अनिवार्य माक्स लगाउनुपर्ने नियम वनाएको छ। जुन अत्यन्त राम्रो हो। स्वास्थ्यको दृष्टिकोणले गरिएको यसप्रकारको बन्देजलाई भक्तजनहरुले पनि राम्ररी पालना गरेको पाइएको छ।

साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् ब्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ। साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता छ।

प्रकाशन मिति–२०७७ साल साउन २६ गते सोमवार ।