काठमाडौं। नेपालवाट सन् १९८४ मा शुरु भएको दक्षिण एशियाली खेलकुद (साग)को १३ औं संस्करण आइतवारवाट नेपालमा नै भव्य तथा सभ्य रुपमा शुभारम्भ भएको छ।

तेश्रोपल्ट नेपालको भूमिमा आयोजित सागको भव्य तथा सभ्य शुभारम्भ समारोहमा काठमाडौंको दशरथ रंगशालामा नेपालका कला–संस्कृतिलाई गमक्याउने कार्य भएको छ। विशेषत विश्वविख्यात नेपाली गायक दीपक बज्राचार्यको अत्यन्त लोकप्रिय गीत मनमगन प्रस्तुत हुंदा सारा नेपाली कला–संस्कृतिलाई जीवन्त रुपमा पोखिने कार्य भएको थियो ।

त्यो गीतको पृष्ठभूमिमा काठमाडौंको इन्द्रजात्राका लाखे, पुलिकिसी देखि विस्केट जात्राको छनक लगायत हिमाल, पहाड तथा तराईका जीवन्त कला–संस्कृतिलाई जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य भएको थियो। दशरथ रंगशालाभरि हिमाल, पहाड र तराईको संस्कृतिलाई जीवन्त रुपमा प्रस्तुत गरेर सवैको वाहवाही पाउन सफल भएको थियो।

यति धेरै नेपाली कला–संस्कृतिको जीवन्त प्रस्तुति प्रदर्शन गर्ने जिम्मा रशलाइट मिडियाले पाएको हो।

रशलाइट मिडियाकी अध्यक्ष रमिता भण्डारीले दक्षिण एशियाली खेलकुद (साग)को १३ औं संस्करणको उदघाटन समारोहको कलात्मक प्रस्तुति दिने जिम्मेवारी आयोजक राष्ट्रिय खेलकुद परिषदले दिएको जानकारी भिजन संसार डटकमलाई दिएकी छन्।

रशलाइट मिडियालाई दिएको जिम्मेवारीलाई गहनतापूर्वक निर्वाह गर्न कुनै कसर वाँकी नराखेको जानकारी पनि अध्यक्ष भण्डारीले दिएकी छन्। मंसीर २४ गते हुने समापन समारोहलाई पनि भव्य तथा सभ्य बनाउन आफूहरुले विशेष तयारी गरिरहेको भण्डारीले भनेकी छन्।


प्रकाशन मिति–२०७६ साल मंसीर १६ गते सोमवार ।