काठमाडौं। विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ। आगामी वर्ष इंगल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल आइपुगेको हो।

विश्वकप अघि ट्रफीलाई ‘विश्व टुर’ कार्यक्रम अन्तर्गत शुक्रबार दिउँसो नेपालमा उक्त ट्रफी ल्याइएको हो। ट्रफीलाई साँझ नेपालको स्वयम्भुमा पहिलोपटक प्रदर्शन गरिएको थियो। चार दिनसम्म नेपाल रहने ट्रफीलाई शनिबार बिहान पोखरामा लगेर त्यहां प्रदर्शन गरिने भएको छ।

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा उक्त ट्रफी प्रदर्शनी गरिने भएको हो। त्यसपछि ट्रफीलाई फेरि काठमाडौं ल्याइनेछ र आइतबार बिहान चन्द्रागिरी र सोमबार बसन्तपुरमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिने भएको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक ९ गते शुक्रबार ।