काठमाडौं। सुदुरपश्चिम नेपालको विकट जिल्ला हुम्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा जुम्ल्याहा बच्चाको जन्म भएको छ। सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीको गर्भवाट जुम्ल्याहा बच्चा जन्म भएको हो।

वीरमताले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको अनलाइन खवरले जनाएको छ। विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिनियर अनमी सरिता बोहराको भनाई रहेको छ।

अनमी बोहराका अनुसार पहिले जन्मेकी छोरीको नाम कोरोना र पछि जन्मेको छोराको नाम भाइरस राखिएका छन्। सो नाम राख्नमा आमा र बुवा हस्तबहादुरले पनि सहमति दिएको जनाइएको छ।

जन्मिँदा कोरोनाको तौल दुई किलो पाँच सय ग्राम र भाइरसको एक किलो सात सय ग्राम रहेको अस्पतालले जनाएको छ। जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका कोरोना र भाइरस तथा आमाको स्वास्थ्य सामान्य छ।
प्रकाशन मिति–२०७७ साल बैशाख १ गते सोमवार ।