काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको महारोग कोरोनाभाइरसको कारण नेपालमा नयाँ बर्ष २०७७ साल प्रारम्भ भएतापनि नयाँ बर्षको कुनै रौनक देखिएन। घरमा झुण्डाइने क्यालेण्डर अर्थात भित्तेपात्रो पनि नेपालीहरुको घरमा झुण्डिन सकेन।

कोरोनाभाइरसको संक्रमणको कारण लगातारको लकडाउनले गर्दा भित्तेपात्रो अर्थात यो नयाँ बर्ष २०७७ सालको क्यालेण्डर बजार पुग्नै पाइएन। यसलेगर्दा पनि नयाँ बर्षको अघिल्लो दिनसम्म हरेकका घर–घरमा पुग्ने भित्ते पात्रो–क्यालेण्डर घर–घरमा यो बर्ष पुग्नै सकिएन।

पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता नै बजारमा आइसकेपनि लकडाउन अर्थात बन्दाबन्दी शुरु हुनुअघि भित्तेपात्रो बजारमा यथेष्ट मात्रा आइसकेको थिएन । बजारमा आउन लागेका भित्तेपात्रोलाई पनि कोरोनाको त्रासले प्रभाव पारेको थियो।

चीनको वुहानमा पुसमै शुरु भएको कोरोनाको प्रभावसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न थालेको थियो । चीनमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीलाई स्वदेश ल्याएपछि धेरै नेपालीमा त्रास फैलिएको थियो।

यो त्रास र सबै काम अन्तिममा गर्ने हाम्रो बानीका कारण पनि धेरै नेपालीले बजारबाट पात्रो किनेका थिएनन्। चैतको मसान्तसम्म किन्ने सोचमा रहेकालाई चैत ११ गतेदेखि नै शुरु भएको बन्दाबन्दी–लकडाउन चैत मसान्तसम्म पनि नखुल्दा किन्ने अवसर जुटेन।

नेपालमा प्रकाशित भइरहेको पात्रोमध्ये सबैभन्दा पुरानो तोयनाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले सामाजिक सञ्जालमा भित्तेपात्रो तयार भएर घर एवं प्रेसमा थुप्रिए पनि बजारमा पठाउन नसकिएको भन्दै सामाजिक सञ्जालमा दुःख प्रकट गरेका छन्।

विसं १९४७ मा तोयनाथ पन्तले शुरु गरेको पात्रोलाई उनका चौथो पुस्ताले भित्तेपात्रो, गोजीपात्रोसहित निरन्तरता दिएका हुन। यस वर्ष तयार भएको भित्तेपात्रो उपभोक्ताका पुर्‍याउन नसकेकामा पन्त परिवारलाई नरमाइलो लागेको हो।

सूचना विभागबाट प्रकाशन हुने वर्षभरको बिदालगायतको आधिकारिक विवरण हुने भित्तेपात्रो यस वर्ष पाउन नसकिएको धेरै मानिसको गुनासो छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिसँगको सहकार्यमा विभागले तिथि, मिति चाडपर्वलगायतको आधिकारिक जानकारी पनि दिने गरेको छ।

समितिबाट स्वीकृत भई पात्रो प्रकाशन भएर बजारमा गएपछि त्यसैका आधारमा धेरै सरकारी कार्यालय, सङ्घसंस्था, बैंक, सहकारीलगायत वित्तीय संस्थाले प्रकाशन गर्ने गरेका भित्तेपात्रो पनि यस वर्ष प्रभावित भएका छन्। छापिएका भित्तेपात्रो–क्यालेण्डर पनि बजारमा लकडाउनका कारण बजारमा पुग्न नसक्दा घर–घरमा पुग्न सकेन।
प्रकाशन मिति–२०७७ साल बैशाख २ गते मंगलवार ।