काठमाडौं। बहिरा विद्यार्थीहरुको लागि सर्वगुण संपन्न जुडो तालिम हलको निर्माण भएको छ। काठमाडौंको बानेश्वर स्थित कात्यायनी मार्ग स्थित केन्द्रिय बहिरा विद्यालयको आवास गृहमा बहिरा विद्यार्थीहरुको जुडो तालिम हल निर्माण भएको हो।

कुल १५ लाखमा निर्माण भएको बहिरा विद्यार्थीहरुको जुडो तालिम हलको उदघाटन ३ नंबर प्रदेशका खेलकुद परिषदका सदस्य सचिव सूर्य भण्डारीवाट भएको छ। शनिवार आयोजित उदघाटन कार्यक्रममा बहिरा विद्यार्थीहरुले जुडोको प्रदर्शन तथा सांकेतिक भाषामा राष्ट्रिय गान समेत गाएका थिए।

जुडो तालिम हल निर्माणका संयोजक अग्रज जुडो तालिम प्रशिक्षक धर्मकुमार श्रेष्ठको संयोजनमा भएको उदघाटन कार्यक्रमको आयोजना नेपाल बहिरा तथा दृष्टिविहिन पारा जुडो संघले गरेको थियो। जसमा जुडोका जापानी प्रशिक्षक तथा सहयोगी जापानीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा लायन्स क्लव अफ काठमाडौंका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजु, अग्रज लायनविदहरु मणिश्री बज्राचार्य, प्रशान्त मानन्धर ,श्याम स्मृत लगायतकाको विशेष आतिथ्यता रहेको थियो। जुडो हल निर्माण समितिका संयोजक धर्मकुमार श्रेष्ठका अनुसार, कुल लागत १५ लाखमा लायन्स क्लव अफ काठमाडौं स्वनिगःले नगद २ लाख ९४ हजार सहयोग रहेको थियो।

वांकी सवै जापानी जुडो प्रशिक्षक तथा खेलाडीहरुको सहयोगवाट जुडो हलको निर्माण भएको थियो। कार्यक्रमको सभापतित्व केन्द्रिय बहिरा विद्यालयका प्रधानाध्यापक उपेन्द्र पराजुलीवाट भएको थियो।

प्रकाशन मिति–२०७६ साल भदौ १४ गते शनिवार ।