काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले नयाँ युगको शुरुवात गरेको छ। नयाँ युगको सोच र चाहना भनेकै स्मार्ट सिटी हो। त्यो स्मार्ट सिटी तयार पार्नका लागि स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा–२०७५ को शुभारम्भ गरेर काठमाडौं महानगरपालिकाले नयाँ युगको शुभारम्भ भएको घोषणा गरेको हो।

१७ लाख बराबरको नगद पुरस्कार रहेको स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा–२०७५ को शुभारम्भ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका हुन्। मेयर शाक्यले यो प्रतिस्पर्धाले युवामा रहेको नयाँ सोच र फरक सोच अनि सोचमा बदलौं भन्ने धारणाले मूत्र्त रुप दिने कुरामा आफू विश्वस्त बनेको पनि मेयर शाक्यले शुभारम्भ कार्यक्रममा भनेका छन्।

हरेक कुरामा स्मार्ट आउनुपर्ने युग नै भैसकेकोले त्यसको अगुवाई गरेर महानगरवासीलाई स्मार्ट बनाउन पनि यो प्रतिस्पर्धात्मक कार्यक्रम ल्याएको पनि मेयर शाक्यको दावी रहेको छ। जसमा समुदाय तथा वातावरण, शहरी पूर्वाधार बिकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन विषयक चार क्षेत्रमा मुख्य प्रतिस्पर्धा गर्न लगाइने भएको पनि मेयर शाक्यले बताए।

अवसरको अभावका बिकल्प सोचेर बसिरहेका युवाहरुलाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने आशा जगाउन उद्यमशीलता प्रबद्र्धन गर्न सक्ने सामुहिक प्लेटफर्मका रुपमा कार्यक्रम शुरु गरिएको पनि मेयर शाक्यको जिकिर रहेको छ।

“हाम्रो काठमाडौं, हामी बनाउँछौं” नारा दिइएको “स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा – २०७५” को शुभारम्भ गर्दै मेयर शाक्यले “काठमाडौं च्यालेन्ज डट ओआरजि” वेभपेजको पनि काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका थिए।

हामीले अधिकांश समय स्मार्ट शव्दको प्रयोग गरिरहेका हुन्छौं। यो शव्द शहर बनाउने कुरामा मात्र होइन, व्यक्ति—व्यक्तिमा पनि स्मार्टनेसको कुरा आउँछ । धेरै समयको तयारी पछि शहरी समस्याको समाधान खोज्न काठमाडौं महानगरपालिका शहरी योजना आयोगमार्फत नयाँ सोचको खुल्ला छलफल गर्ने यसलाई थलो बनाएको खुलासा पनि मेयर शाक्यले गरेका छन्।

यसले विकासमा सहभागिता, साझेदारिता बढाउँछ र प्राप्त उपलब्धीमा दायित्व बोध गराउँछ भन्दै मेयर शाक्यले शहरी समस्या समाधानमा यसो गर्न पाए हुन्थ्यो वा म त्यो ठाउँमा पुगेको भए यसो गर्थें भनेर सोच्नेहरुलाई सोच लिएर आउन आग्रह गरेका छन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले महानगरको यो कार्यक्रमले युवाहरुलाई देशमै केही हुन थाल्यो भन्ने सन्देश सञ्चार भएको र यसले युवाहरुलाई पलायन हुनवाट रोक्ने तथा देशलाई युवाविहिन हुनवाट बचाउने निश्चित भएको पनि जिकिर गरेकी छन्।

प्रतिस्पर्धामा सहभागी हुन नेपाली नागरिक हुनुपर्छ, ऊ स्वदेश वा विदेश जहाँबाट भए पनि भाग लिन सक्छ । सहभागिताका विषयमा जानकारी दिँदै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले सरकारी तहबाट यो गौरबमय पहिलो प्रयास भएको उल्लेख गर्दै काठमाडौं महानगरपालिकाको यो प्रयास सिकाइ बन्न सक्छ, भनेका छन्। युवाहरुलाई प्रोत्साहित गर्ने यो विलकुलै नयाँ सोच भएको पनि प्रमुख प्रशासकीय अधिकृत कोइरालाको भनाई रहेको छ।

यस प्रकारका प्रतिस्पर्धाहरु निजी क्षेत्रबाट अभ्यास भएका छन् । बिदेशमा पनि यस्ता कार्यक्रम आयोजना हुन्छन् । तर,हामी बिदेशी ढाँचाको होइन नेपाली समाज, यहाँको भूगोल र आवश्यकता अनुसारका सोच चाहन्छौं, कार्यक्रममा काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले भनेका छन्।

प्रतिस्पर्धाबाट साधारण तर नौला र केही जटिल तर सम्भब हुने गरी दुई किसिमका प्रविधिहरुको अपेक्षा गरिएको पनि सदस्य सचिव बस्नेतले खुलासा गरे। प्रतिस्पर्धाको शुरुवात्मा एउटै समूहले धेरै सोच दर्ता गर्न सक्छन् । पछि एउटै समूहको दुई वा त्योभन्दा धेरै सोच छनौटमा परे भने उनीहरुले अन्त्यमा एउटा मात्र सोच रोज्नुपर्छ भनेर प्रतिस्पर्धाका साझेदार संस्था यङ् इनोभेसन्सका प्रमुख कार्यकारी अधिकृत विभुषण बिष्टले बताए।

यस प्रतिस्पर्धामा यङ् इनोभेसन्ससँगै नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, दायित्व, अन्तर प्रेरणा, ग्लोवल इन्टरप्रेनरसिप नेटवर्क, कारखाना र किन्स कलेज नोलेज पार्टनरका रुपमा सहभागी छन् ।
प्रकाशन मिति–२०७५ साल मंसिर २६ गते बुधवार ।