भक्तपुर। परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि २ नंबर प्रदेशको रोकिएको परीक्षाको तालिका सोमबार सार्वजनिक भएको छ। २ नंबर प्रदेशकोे स्थगित एसईईको परीक्षा यही चैत्र २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको हो।

सोमबारै परीक्षा बोर्डकोे बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिने भएको हो ।

तालिकाअनुसार प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत्र २२ गते तथा सामाजिक विषयको परीक्षा चैत्र २३ गते सञ्चालन हुने भएको छ। अन्य विषयमध्ये चैत्र २४ गते जनसंख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय रहेको छ ।
त्यसै गरी चैत्र २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने भएको छ। चैत्र २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ।
प्रकाशन मिति–२०७५ साल चैत्र १९ गते मंगलवार ।