काठमाडौं। ४ लाख ७२ हजार ७८ एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो। बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय वमोजिम सार्वजनिक गरेको बोर्डले जनाएको छ।

गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाभाइरस (कोभिड–१९) का कारण अन्तिम समयमा स्थगित भएको थियो। परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ। विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए।

विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो। नेपालको इतिहासमा विद्यार्थीले परीक्षा नै नदिइकन परीक्षाको नतिजा सार्वजनिक गरेको यो पहिलो घटना हो। यस अर्थमा पनि यो बर्षका एसईईका परीक्षार्थीहरु ऐतिहासिक विद्यार्थी सावित हुन पुगेको छ।
प्रकाशन मिति–२०७७ साल भदौ १ गते सोमवार ।