काठमाडौं। ५ नंबर प्रदेशको नाम र राजधानीको टुंगो लागेको छ। ५ नंबर प्रदेशको राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको हो।

त्यसैगरेर, प्रदेशको नाम पनि लुम्बिनी तय गरिएको छ। मंगलबार प्रदेशसभाको बैठकमा भएको मतदानबाट दुईतिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भएको हो।

मतदानमा दाङ देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्णबहादुर घर्तीले वताएका छन्। प्रदेशसभामा ८७ सदस्य रहेकोमा मंगलबार मतदानमा ८२ सांसद उपस्थित भएका थिए। प्रदेशसभामा मतदानमा देउखुरीको पक्षमा बहुमत आएसँगै स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरिएको थियो।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारले पेस गरेको प्रस्तावका पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको थियो । यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, कांग्रेसका केही सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा भोट हालेका छन् । प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुईतिहाइ बहुमतले पारित भएको छ। सो प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको छ।

यसअघि, बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका बासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको वताएका छन्। अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका तीनओटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी)को केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजेको उनको जिकिर छ।

मुख्यमन्त्री पोखरेलले प्रस्तावित ठाउँले कुनै एउटा भेगकोमात्र प्रतिनिधित्व नगरी सबैको मनोविज्ञानलाई जोड्ने दाबी गरेका छन्। कुनै एउटा क्षेत्रको विकासमा केन्द्रित भएर समग्र प्रदेशको समृद्धि परिकल्पना गर्न नसकिने भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशभित्रका सबै जिल्लाका जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी तोकिएको जिकिर गरेका छन्।

पोखरेलले बुटवल–भैरहवा करिडोर क्षेत्रलाई प्रदेशको वित्तीय राजधानीको रुपमा विकास गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
प्रकाशन मिति–२०७७ साल असोज २० गते मंगलवार ।