काठमाडौं। नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। चीनबाट फर्केका एक जनामा उक्त भाइरसको संक्रमण पुष्टी भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।

संक्रमित व्यक्तिको पहिचान गोप्य राखिएको छ। उनी जनवरी ९ मा चीनको युवानबाट नेपाल आएका थिए। उनको रगतको नुमुना परीक्षणका लागि डब्लुएचओ कोल्यावोरेटिङ सेन्टर हङकङ (WHO collaborating center Hongkong) पठाइएको थियो। बिहीबार आएको उनको रगत परिक्षणको नजितामा उनलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको हो।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्यावोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजीटीभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ।’

त्यसअघि कोराना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनलाई निगरानीमा राखिएको थियो। अस्पतालले उनलाई डिस्चार्ज गरिसकेको छ। उनको सम्पर्कमा रहेका थप व्यक्तहरुको पनि खोजी भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

‘ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे सघन निगरानी तथा विस्तृत अध्ययनहरु गरिरहेको छ। बिरामीका नजिकको सम्पर्कमा आएको हुनसक्नेहरुको खोजी गरी पहिचान र परिक्षणको काम हुँदैछ। यसबारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधान अनुसार विश्व स्वास्थ्य संगठनलाई चाँडै विस्तृत विवरण जानकारी गराइँदैछ’, स्वास्थ्य मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशन मिति–२०७६ साल माघ १० गते शुक्रवार ।