ललितपुर। बौद्ध धर्मको महाग्रन्थ त्रिपिटक हो। बौद्ध धर्मको प्रणेता भगवान बुद्धको भाषा पालि भाषा हो। यिनै बौद्ध धर्मको महाग्रन्थ त्रिपिटक र भगवान बुद्धको पालि भाषालाई मज्जाले वाचन गर्न सक्ने गजबको खुवी एवम् प्रतिभालाई ललितपुर जोम्बहाल हाल प्रयोगपोखरी निवासी ११ बर्षका श्रीदीप शिल्पकारले देखाइरहेका छन्।

 विलक्षण प्रतिभाका धनी मानिएका श्रीदीपले जारी लकडाउनमा हरेक दिन दिउंसो १ बजे सामाजिक सञ्जाल फेसबुकवाट बौद्ध महाग्रन्थ त्रिपिटक वाचन गर्ने कार्य गर्दैआएका छन्। नेपालभाषामा बाचन गर्दैआएको त्रिपिटक महाग्रन्थ वाचनलाई धैरैले अत्यन्त मन पराएका छन्। अर्कोतर्फ श्रीदीपको त्रिपिटक बाचन शैलीवाट हेर्नेहरु तीनछक्क नै पर्ने गरेको छ। अर्कोतर्फ महापरित्राण पाठ पालि भाषामा ११ दिनसम्म वाचन गरी श्रीदीपले संपन्न गरिसकेको जानकारी श्रीदीपकी ठूलीआमा सुनिता तुलाधर शिल्पकारले भिजन संसार डटकमलाई बताएकी छन्।

सानैदेखि बौद्ध धर्म तथा ज्ञानका वारेमा अत्यन्त जिज्ञासु श्रीदीपलाई यस क्षेत्रमा पोख्त बनाउने कार्यमा ठूलो बुवा बौद्ध विव्दान जितेन्द्र शिल्पकारको विशेष योगदान रहेको छ। ठूलो बुवा जितेन्द्र शिल्पकारसंगको बढी घुलमिल तथा ठूलो बुवाकै निर्देशन अनि सिकाइवाट नै पोख्त बनेका श्रीदीपको जिज्ञासु स्वभावले पनि सानो उमेरमा ठूलो ग्रन्थ बाचन गर्न सफलता पाएकोमा परिवारका सवै दंग परेका छन्।

युवक बौद्ध मण्डल, इति, ललितपुरवटा कक्षा ५ को अन्तिम परीक्षा दिइसकेका श्रीदीप यो बर्षवाट कक्षा ६ मा अध्ययन गर्ने भएका छन्। कक्षामा पनि मेधावी विद्यार्थी श्रीदीपले यसरी निरन्तर बौद्ध महाग्रन्थ त्रिपिटक वाचन चानचुने कुरा भने अवश्य होइन। यसरी त्रिपिटक वाचन नभएको ३० बर्ष भैसकेको छ। त्रिपिटक वाचन ३० बर्षअघि श्रद्धेय भिक्षु आनन्द भन्तेको दिवंगत पछि स्वयम्भूमा दिवंगत श्रद्धेय भिक्षु सुदर्शन भन्तेले भिक्षुसंघसहित नेपालभाषामा त्रिपिटकको दीघनिकाय पाठ गरेका थिए।

त्यसपछि, त्रिपिटक सार्वजनिक रुपमा वाचन गर्ने कार्य
११ बर्षिय श्रीदीप शिल्पकारले नै गरेका हुन। त्यसरी फेसबुक लाइभवाट त्रिपिटक बाचन गरेको देखेपछि ज्यादै आश्चर्यमा परेका त्रिपिटक ग्रन्थलाई नेपालभाषा तथा नेपालीभाषामा अनुवाद गर्ने अनुवादक बौद्ध बिद्धान दुण्डबहादुर बज्राचार्यले श्रीदीपलाई भेटेर अझ धेरै प्रेरणा दिएको श्रीदीपकी ठूलीआमा सुनिता तुलाधर शिल्पकारले बताएकी छन्।

बौद्ध विव्दान दुण्डबहादुर बज्राचार्यले आफ्नै घरमा बोलाएर श्रीदीपलाई नेपालभाषामा अनुवादित जातक कथाका ६ वटै कितावहरु र थप केही कितावहरु मायाको चिनो स्वरुप पुरस्कार नै दिएको जानकारी पनि सुनिता तुलाधर शिल्पकारले भिजन संसार डटकमलाई दिएकी छन्।

गत बर्षको माघ महिनामा शंखमूलस्थित अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रवाट आयोजना गरेको पाँचदिने बौद्ध ध्यान शिविरमा भाग लिएर ध्यानको पूर्ण ज्ञान प्र्राप्त गरेका श्रीदीप शिल्पकार बौद्ध शिक्षा र ज्ञानमा दक्ष बनेर भविष्यमा बौद्ध विव्दान बन्ने योजनामा छन्। परिवारको प्रेरणा अनि आफूभित्रैको चाहनाले बौद्ध ज्ञान ग्रहण गर्ने तथा यसलाई बाँड्न आफू लागिरहेको श्रीदीप शिल्पकारले भनेका छन्।

https://www.facebook.com/shreedip.shilpakar.3/videos/236589811114662/

प्रकाशन मिति–२०७७ साल जेठ २ गते शुक्रवार ।