काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यले आफू मेयर छँदा गरेको आधुनिक सडक बत्ती जडान गर्ने सहमतिलाई कार्यान्वयन गर्न लागिएकोमा वर्तमान मेयर बालेन्द्र साहलाई आभार प्रकट गरेका छन्।

पूर्व मेयर शाक्यले सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै पूर्ववत सहमति अनुरुप काठमाडौं महानगरपालिकाका मुख्य मुख्य क्षेत्रमा सडक बत्ती राख्ने कार्य शुरु गर्न लागिएकोमा आभार प्रकट गरेका हुन् ।

‘काठमाडौंका सडकहरु झिलिमिलि बनाउने विषयमा तीन वर्ष अघि भएको सहमति कार्यान्वयन गर्न लागिएको थाहा पाउँदा खुशी लागेको छ । मेयर साहलाई धन्यवाद ।’ शाक्यले भने ।

महानगरपालिकाका मुख्य मुख्य क्षेत्रहरुमा सडक बत्ती जडान गर्ने भनि महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच भएको विसंं.२०७७ मंसिर २५ गते विहीबार सहमति भएको थियो । सहमति अनुरुप कार्य शुरु गर्न मंगलबार तीन वटै निकायबीच सम्झौता गरिएको महानगरपालिकाले जनाएको छ । सम्झौतामा बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९ सय २५ रुपैयाँ लागत अनुमान गरिएको छ ।

यस अघि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ्ग र तत्कालीन मेयर शाक्यको उपस्थितिमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, तत्कालीन प्राधिकरणका का.मु. कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, तत्कालीन विभागका महानिर्देशक केशवकुमार शर्माबीच सो सहमति भएको थियो।

महानगरपालिकाले ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत लगानीमा सडक बत्ती जडान गर्ने सहमतिपत्रमा उल्लेख गरिएको थियो। प्राधिकरणले व्यर्होने ४० प्रतिशत रकम पनि शुरुमा महानगरपालिकाले राखिदिने र सो रकम आउने कार्यक्रममा प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने सहमति भएको थियो ।

सहमतिमा भनिएको छ ‘ सो कार्यको लागि लागत अनुमान तयार गर्ने,प्रविधिको छनौट गर्ने र निर्माण कार्यको सुपरीवेक्षण गर्ने लगायतको कार्य प्राधिकरणले गर्ने र आयोजनाको निर्माण कार्य पछि मर्मत गर्नुपर्ने सडक र फुटपाथ लगायतको कार्य विभाग गर्ने छ ।’

सडक बत्ती जडान, सञ्चालन विषयमा समन्वय,अनुगमन तथा रिपोटिंग गर्ने तीन वटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने,सोही संयन्त्रले सडक बत्तीको सम्भाव्य विस्तार स्थलहरुको पहिचान अध्ययन गरी ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने भनि सहमतिपत्र भनिएको थियो।

यस अघि महानगरपालिकाको लागि आवश्यक दमकल खरिद गरिसकेपछि त्यसको तयारी अघि बढाएकोमा पनि वर्तमान मेयर साहलाई पूर्व मेयर शाक्यले धन्यवाद दिएका छन्।
प्रकाशन मिति–२०७९ साल माघ २७ गते शुक्रवार ।