इजरायल । नेपाल र इजरायल वीच कूटनैतिक सम्बन्ध स्थापना भएको ६०औँ बर्षगाँठको अवसरमा नेपालका प्रधानमन्त्री  केपी शर्मा ‌ओलीले इजरायली प्रधानमन्त्री H.E. Benjamin Netanyahu सँग टेलिफोन वार्ता गरेका छन्।

इजरायलको समय अनुसार आज सोमवार दिउँसो २ः३० बजे (नेपाली समय अनुसार अपरान्ह ५ः१५ बजे) भएको उक्त टेलिफोन संवादमा ६०औँ बर्षगाँठको उपलक्ष्यमा प्रधानमन्त्रीद्वयले आफ्नो, सम्माननीय राष्ट्रपतिको र आ–आफ्ना देशका जनताको तर्फबाट एकअर्कालाई शुभकामना दिएर अभिवादन साटासाट गरेको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ।

टेलिफोनवार्तामा प्रधानमन्त्रीद्वयले बिगत ६० बर्षदेखि रहीआएको सुमधुर सम्बन्ध भविष्यमा थप प्रगाढ बन्दै जानेमा विश्वास व्यक्त गरेका छन्।  संवादमा कोरोनाले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावको पनि चर्चा भएको थियो। प्रधानमन्त्री ओलीले COVID-19 को Pandemic का कारण इजरायलमा ठूलो संख्यामा मानिसहरू संक्रमित भई सयौं व्यक्तिको निधन भएकोमा गहिरो समवेदना प्रकट गरेका थिए।

प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमणलाई बढ्न नदिन चालिएका कदमहरु बारेमा जानकारी गराउंदै प्रभावकारी रूपमा कोरोना नियन्त्रण गर्न सक्षम भएकोमा बधाई दिंदै यसका लागि इजरायल सरकारले चालेका कदमहरूको प्रशंसा गरेका थिए। यी कठिन दिनहरुमा इजरायली सरकारले नेपालीहरुलाई सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्दै त्यहाँस्थित नेपाली समुदायले इजरायली सरकारबाट आगामी दिनमा समेत संरक्षण र समर्थन प्राप्त गरिरहने विश्वास व्यक्त गरेका थिए।

दुवै प्रधानमन्त्रीले विशेषगरी कृषि, पर्यटन, लगानी, व्यापार तथा प्रविधि हस्तान्तरणको क्षेत्रमा सहकार्यको बढी सम्भावना भएको औंल्याउँदै सम्बन्धलाई थप उचाइमा पुर्‍याउनका लागि उच्चस्तरीय भ्रमणहरुको आदान–प्रदानको आवश्यकतामा जोड दिएका थिए।

प्रधानमन्त्री ओलीले कोरोनाको अन्त्यसँगै इजरायलका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्। प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री H.E. Benjamin Netanyahu वीच टेलिफोन वार्ता भएको यो दोश्रो पटक हो।

यस अघि नेपालका माननीय परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफ्ना ईजरायली समकक्षी H.E. Gabi Ashkenazi सँग आजै दिउसो १२ बजे (नेपाली समय अनुसार दिउँसो २ः४५ बजे) टेलिफोन वार्ता गरी शुभकामना आदानप्रदान गरेका थिए।


प्रकाशन मिति–२०७७ साल जेठ १९ गते सोमवार ।