Local Electionकाठमाडौ। नेपालमा आज बुधवार भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि उत्साहजनक मतदान भएको छ। निर्वाचन आयोगले तीन वटा प्रदेशको निर्वाचनमा ७० दशमलव ५ प्रतिशत मत खसेको जनाएको छ।

प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान भएको हो । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पहिलो चरणमाजस्तै दोस्रो चरणमा पनि उत्साहजनकरुपमा मतदान भएको बताए। पहिलो चरणमा ७३ प्रतिशत मतदान भएको थियो। ७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुने तोकिएको छ।

प्रवक्ता शर्माले बुधवार ५ बजेसम्ममा मतदानस्थलमा प्रवेश गरेका मतदातालाई मतदान गर्न दिइएको बताए । उनले मौसमले पनि साथ दिएकाले दोस्रो चरणको मतदान सहजताका साथ सम्पन्न भएको बताए।

सोलुखुम्बुको नेचासल्यानको तिङ्ला र नवलपरासीको सरावल गाउँपालिका– ६ को भुजहवा केन्द्रका बासिन्दाले भने मतदात बहिष्कार गरे। तिङ्लामा एक भोट पनि खसेन भने भुजहवा केन्द्रमा २ मत खस्यो। उनीहरुले स्थानीय तह पुनर्संरचना गर्दा स्थानीयबासीको इच्छाविपरीत सिमांकन गरेको भन्दै विरोध गरेका हुन्।

आयोगका अनुसार बझाङको जयपृथ्वी नगरपालिका– २ पाण्डु उच्च मावि केन्द्रमा मत वारिसमार्फत हाल्ने विषयमा विवाद हुँदा मतदान नै स्थगित भएको छ। दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन भएको हो। ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको थियो।

मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ । नगरपालिकाका प्रमुखरउपप्रमुख, गाउँपालिकामा अध्यक्षरउपाध्यक्ष तथा वडामा एक वडाध्यक्ष र चार वडा सदस्यसहित प्रत्येक स्थानीय तहमा एक मतदाताले ७ पदमा मतदान गरेका छन्। दोस्रो चरणमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ जना चुनावी प्रतिस्पर्धामा छन् । प्रत्येक वडामा ४ सदस्यमध्ये एकजना दलित महिलासहित २ सदस्य महिलाका लागि आरक्षित छ।

प्रकाशन मिति–२०७४ साल असार १४ गते बुधवार ।