काठमाडौ। स्वीडेनको किरुना शहरका घरहरुलाई ठूला गाडीमा राखेर ओसार्ने कार्य भैरहेको छ। बस्ती नै सार्ने उदेश्यले सार्न मिल्ने ती घरहरुलाई ठूला–ठूला गाडीमा राखेर सार्दै गरेको अनौठो दृश्य त्यहाँ दिनानुदिन देखिन थालिएको छ।

विज्ञहरुको सहयोगमा सिंगो घरलाई सुरक्षित रुपमा निकालेर गाडीमा राख्दै मानिसहरु धमाधम अन्यत्र लगिरहेका छन्। समाचार एजेन्सीका अनुसार, त्यहाँ रहेको फलाम खानीका कारण किरुना शहरबाट बसोबास हटाउन थालिएको हो।

स्वीडेन सरकारले उक्त शहरको कतिपय क्षेत्रलाई बसोबासका लागि अयोग्य ठहर गरेको छ। फलाम खानीका कारण जमिनमुनी ठूला सुरुङ खनिएकाले कुनै पनि बेला जमिन भासिएर ठूलो क्षति हुन सक्ने भन्दै स्वीडेन सरकारले त्यहाँका बासिन्दालाई स्थानान्तरण गर्न भनेकोले बसाई सर्न सिंगो घर नै गाडीमा राखेर ओसार्न थालिएको हो।

उक्त शहर नजिकै ‘न्यू किरुना सिटी’ नामले नयाँ शहर बसाइँदैछ। त्यही नयाँ शहरमा त्यहाँको बस्तीका घर गाडीवाटै धमाधम सार्न थालिएको हो।
प्रकाशन मिति–२०७४ साल मंसीर १२ गते मंगलवार ।