काठमाडौं । नेपालको सुदुरपश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पले आइतवार विहान ७ बजेको समाचारसम्म १ सय ५७ जनाले ज्यान गुमाएको छ। शुक्रबार मध्यराति, मस्त निद्रामा रहेको बेला भूकम्पले देशैभर कम्पन उत्पन्न गराएपनि ठूलो धनजनको क्षति जाजरकोट र पश्चिम रुकुममा भएको हो।

सामान्यतः मस्त निद्रामा पर्ने समयमा भूकम्प जाँदा भूकम्पको केन्द्र बिन्दु रहेको जाजरकोट र छिमेकी जिल्ला पश्चिम रुकुममा भूकम्पले ठूलो मानवीय क्षति पुर्‍यायो । भूकम्पमा परि अहिलेसम्म डेढ सय भन्दाबढीको ज्यान गैसकेको छ । ज्यान गुमाउनेहरुमा महिला र बालबालिकाको संख्या धेरै रहेको छ ।

भुकम्पले जाजरकोटमा भत्किएका घर
मध्यराति भएकाले भूकम्पलगत्तै उद्धार तथा खोजी कार्य हुन नसक्दा पनि भग्नावशेषमा च्यापिएर धेरैले ज्यान गुमाउनु परेको अनुमान गरिएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटको बारकोटे गाउँपालिकामा कुनै पनि घर सग्लो नरहेको उद्धारमा पुगेका सुरक्षाकर्मीहरुले बताएका छन् । अन्य गाउँपालिकाहरुमा पनि अधिकांश संरचना भत्किएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार तथा खोजी गर्दा केहीलाई जिवितै उद्धार गर्न सफल भएका छन् । भूकम्पबाट भएका मानवीय क्षतिमा केही घटना हृदयविदारक समेत रहेका छन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ मा एकै परिवारका २७ जनाको मृत्यु भएको छ । यस्तै, जाजरकोटकै नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंह ठकुरीको समेत मृत्यु भएको छ । सरकारले उज्यालो हुनेवित्तिकै उद्धार तथा खोजीका लागि युद्धस्तरमा काम अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं बिहान नै जाजरकोट पुगेर क्षतिको प्रत्यक्ष विवरण लिनुभयो भने सुरक्षा संयन्त्रहरुको समेत आकस्मिक बैठक समेत बस्यो । भुकम्प प्रभावित क्षेत्रमा भग्नावशेषमा च्यापिएकाहरुको खोजी र घाइतेहरुको उद्धार तथा उपचारमा कमी आउन नदिन सबै संयन्त्र परिचालन गरिएका छन् ।
सरकारले भूकम्पका घाइतेहरूको उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताललाई डेडिकेटेड अस्पताल तोकेको छ भने कोहलपुर मेडिकल कलेज लगायत नेपालगञ्जमा रहेका ठूला अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ।

नेपाल वायुसेवा निगमका विमानहरुलाई अन्यत्रका उडान रोकेर चौरजहारी केन्द्रीत गरिएको छ । यसैगरी भेरी अस्पताल, सैनिक र प्रहरी अस्पतालका १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ । गम्भीर घाइतेहरुलाई नेपाली सेनाले हेलिकप्टरबाट राजधानीका अस्पतालमा समेत ल्याईरहेको छ । नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाहरुमा पाँच दिनका लागि मोबाइल र एसएमएस सेवा निःशुल्क गरेको छ।