Guru Purnima 1काठमाडौ। आषाढ शुक्ल पूर्णिमाका दिन आज आइतवार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व परेको छ। पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

व्रतमा चन्द्रमाको पूजा गरिने र चन्द्रमाको पूजा सायंकालमा पूर्णिमा भएका दिन गर्नुपर्ने भएकाले शनिबार नै पूर्णिमाको व्रत गर्नुपर्ने निर्णय गरिएको समितिले भनेको छ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ। गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरेका छन्।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ।
प्रकाशन मिति–२०७४ साल असार २५ गते आइतवार ।