Tutkey attactedकाठमाडौ। टर्कीमा गत हप्ता भएको सत्ता कब्जाको असफल प्रयासपछि त्यसमा संलग्न भएको आरोपमा अमेरिकामा बस्दै आएका धर्मगुरु फतहुल्लाह गुलेनका भतिजालाई पक्राउ गरिएको छ। गुलेनको जन्मस्थान एर्जुरुमबाट उनका भतिजा मुहमेत सेइत गुलेनलाई पक्राउ गरिएको टर्कीको समाचार संस्था अनादोलुलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ।

मुहमेतलाई राजधानी अंकारा लगिएको छ। कूमा संलग्न भएको आरोपमा एक हजार निजी विद्यालय तथा १२ सयभन्दा बढी संस्थालाई बन्द गर्न आदेश दिइएको छ। यस्ता संस्थामा १९ ट्रेड युनियन, १५ विश्वविद्यालय र ३५ मेडिकल संस्थान रहेको सरकारी समाचार संस्थाले जनाएको छ ।

कूको असफल प्रयासपछि टर्की सरकारले गत बुधबार तीन महिनाका लागि आपतकालीन अवस्था घोषणा गरेको थियो। टर्की सरकारले कूमा संलग्न भएको आरोपमा ६० हजार सरकारी कर्मचारीलाई पक्राउ वा निलम्बन गरेको छ। पक्राउ परेका मध्ये १२ सय सैनिकलाई भने रिहा गरिएको छ। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल साउन ९ गते आइतवार ।