–रविन पिया
अस्टिन, अमेरिका। अमेरिकाको टेक्सास राज्यको कायलका निवासी सुबोध तन्डुकारको समुन्द्रमा डुबेर मृत्यु भएको छ । टेक्सासको राजधानी अस्टिनबाट क़रीब २१० माइल टाढा रहेको कर्पसकृष्टि शहरको समुन्द्रमा पौडीने क्रममा डुबेर तन्डुकारको मृत्यु भएको हो।

आइतवारको दिन बिदा भएको हुंदा बिदा मनाउन साथीहरुसंग रमाइलो गर्न जाँदा सो घटना भएको सुबोधका परिचित बिजय लोहनीले बताएका छन्। काठमाडौको थापाथली घर भएका तन्डुकार टेक्सासको कायल भन्ने ठाउँमा केही महिना अघि मात्र घर किनेर बस्दै आएका थिए।
कोलोराडोबाट पढाई सकाएर आईटीको काममा टेक्सासमा आएका सुबोध तन्डुकार अमेरीकाको नागरिकता लिई नेपाल गइ विवाह गरेर आएको एक वर्ष भएको र श्रीमती चाँडै आउने प्रोसेश भैसकेको तर एक्कासी यस्तो दुःखद समाचारले आफू अति मर्माहत भएको लोहनीले भनेका छन्। तन्डुकारलाई समुन्द्रको छालले तानेर लगेको अनुमान गरिएको छ।
उनका साथीहरूले सुबोधलाई नदेखेपछि स्थानिय प्रहरीलाई जानकारी गराएका थिए। आईतबार अपरान्ह ४ बजेतिर उक्त घटना घटेको थियो । तन्डुकारको शवलाई कर्पसकृष्टिको स्थानीय अस्पतालमा राखिएको छ भने उनका आमाबुबा नेपालबाट आउने प्रक्रिया शुरूभएको हुँदा र सुबोध अस्टिनकै बासीन्दा भएको हुँदा अन्तिम संस्कारको लागी ग्रेटर अष्टिन नेपाली सोसाइटीले समन्वय र सहयोग गर्न लागेको ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपानेले जानकारी दिएका छन् भने विजय लोहनीले पनि परिवारको सल्लाह अनुसार सकेसम्म अस्टिनमा नै तन्डुकारको अन्तिम संस्कार गरिने बताएका छन्।