काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको विनिमय दर –बिक्री दर १ सय १७ रुपैयाँ ६५ पैसा तोकेको छ। यो हालसम्मकै उच्च हो। यसले डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ। बुधवार एक अमेरिकी डलरको खरिद दर १ सय १६ रुपैयाँ ९६ पैसा थियो।

खासगरी चालु आर्थिक वर्षको सुरुदेखि अमेरिकी डलरसँगको तुलनामा स्वदेशी मुद्रा नेपाली रुपैया कमजोर हुने क्रम निरन्तर रूपमा चलिरहेको छ। सोही क्रममा गत असोज ३ मा एक अमेरिकी डलरको विनिमय दर १ सय १७ रुपैयाँ ७ पैसा पुगेको थियो। त्यसपछि केही दिन यो घटेर १ सय १५ रुपैयाँ ८२ पैसासम्म झर्‍यो। त्यसपछि डलर थप बलियो बन्न थालेको छ। यही क्रममा बिहीबार १ सय १७ रुपैयाँ ६५ पैसा पुगेको हो।

सामान्यतया भारतीय रुपैयाँ भारु कमजोर भएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि पर्छ। भारुसँग स्थिर विनिमय दर रहेकाले भारु बलियो बन्दा नेरु पनि बलियो र कमजोर हुँदा नेरु पनि कमजोर हुन्छ। स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले पनि भारुको विनिमय दर घटबढ भए लगत्तै नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ। अहिले पनि त्यही भएको हो।

डलर बलियो हुदाँ एकातिर रेमिटयान्स आप्रवाह (मुलुक भित्रिने रकम) सँगै रेमिटयान्स पठाउनेको संख्या पनि बढ्छ। डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीहरू स्वदेशमा पैसा पठाउन उत्साहित हुने गर्छन् । यसले ठूलो मात्रामा रेमिटयान्स आँउछ। डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ । यसरी रेमिटयान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ।

यसैगरी विदेशी मुद्रा भित्र्याउने माध्यमहरू अपेक्षित रूपमा सुधार हुन नसक्दा यतिबेला मुलुकले ठूलो नोक्सान व्यहोरिरहेको छ। सबैभन्दा बढी नोक्सान वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा भइरहेको छ। केही वर्षयता आयात तीव्र गतिमा उकालो लागिरहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व निरन्तर रूपमा बढिरहेको छ।
प्रकाशन मिति–२०७५ साल असोज १८ गते विहीवार ।