–कल्पना तिवारी
चारैतिरवाट हमला नै हमला भयो भने, त्यसको किल्ला बलियो हुन्छ। त्यो बलियो किल्लालाई दुश्मनहरुले जहिले पनि जहाँवाट पनि जसरी भएपनि हमला गर्ने कोशिश गरिरहेको हुन्छ। त्यसको मतलव जसरी भएपनि तिनको सफलतालाई असफल बनाउने प्रयास भैरहेको नै हुन्छ।

यसो भयो भन्दैमा हार खानु भने पक्कै हुंदैन। दुश्मनको प्रहारलाई पनि सहज रुपमा लिएर अनि पाठको रुपमा आफूले आत्मसाथ गर्नु र गराउनु आवश्यक हुन्छ। जुन कुरामा काठमाडौं महानगरपालिकाका जननिर्वाचित मेयर विद्यासुन्दर शाक्यको सन्दर्भमा पनि त्यो कुरा लागू भएको छ।

मेयर शाक्य निर्वाचित बनेर काठमाडौं महानगरपालिकाको मेयरको कुर्सीमा विराजमान भएदेखि मेयर शाक्यमाथि चौतर्फी हमला भैरहेको पाइन्छ। त्यो हमला पार्टीगत मात्र नभइकन कतिपय अवस्थामा व्यक्तिगत पनि भैरहेको पाइन्छ। जुन नहुनु पर्ने थियो। त्यो भैरहेको छ। यसलेगर्दा पनि मेयर शाक्य आफ्नो काममा सफल भएको प्रमाणित भएको छ।

हुन त मेयर शाक्यले चुनावी घोषणा पत्रमा काठमाडौंको मुहार फेर्नका लागि गरेको बचनबद्धता पूरा गर्न नसकेको होला। नेपालको कानून तथा कर्मचारी तन्त्रले भनेको जस्तो तुरुन्तै हिन्दी फिल्म नायकका नायक अनिल कपुरले गरेजस्तो गर्न नसकेको अवश्य हो।

मेयर शाक्यले चाहेर पनि त्यस्तो गर्न नसक्नुमा मेयरको मात्र दोष होइन। नेपालको प्रशासनिक तन्त्रकै दोष हो। अहोरात्र मेयरले काम गरिरहेको नै पाइएको छ। हात बाँधेर बस्नु भएको त अवश्य पनि होइन। आफ्नो चुनावी घोषणा पत्र अनुसार रिजल्ट आउने गरेर काम गरिरहेका छन्।

काठमाडौंलाई सुन्दर तथा समृद्ध नगर बनाउने योजना अनुरुप सामाजिक, बाताबरणीय तथा सम्पदा देखि स्मार्ट सिटीको अवधारणा अनुरुप कार्य गरिरहेको पाइन्छ। अझ काठमाडौं उपत्यकाको चक्रपथमा मोनोरेल गुडाउने मेयर शाक्यको सपनाले मूत्र्तरुप लिने तर्खर रहेको छ। काठमाडौंको न्यूरोडमा स्मार्ट पार्किङ देखि विभिन्न विश्व सम्पदा क्षेत्रहरुमा फ्रि वाइफाइ लगायतका सुधारात्मक कार्य भएको छ।

काठमाडौं महानगरपालिकाकै पहलवाट विभिन्न स्थानमा भत्किएका पिच तथा सडकको मर्मत अनि सुधार गर्ने कार्य भैरहेको जानकारी काठमाडौं महानगरपालिका वडा नंवर १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले भनेका छन्। अध्यक्ष डंगोलका अनुसार काठमाडौं महानगरपालिकामा विभिन्न सडकको सुधार तथा स्तरोन्नति गर्ने कार्य भएको छ।

काठमाडौंको चमती क्षेत्रमा काठमाडौं महानगरपालिकाकै पहलमा सडकको स्तरोन्नति तथा पिच गर्ने कार्य भएको छ। अर्कोतर्फ सामाजिक सुधार गर्ने कार्यमा काठमाडौं महानगरपालिका अग्रपंक्तीमा नै देखिएको छ।

सवैलाई टाउको दुख्ने विषय बन्दैआएको करको विषयमा काठमाडौं महानगरपालिकाका मेयरकै पहलवाट विभिन्न कर छुट गर्ने कार्य भएको छ। गत बर्ष कर तिर्न पुगेका स्थानीयले यो आर्थिक बर्षमा कर तिर्दा तेब्बर सहुलियत पाएको सवैले महशुश गरिएकै हो।

अर्कोतर्फ, बृद्ध–बृद्धा तथा अपाङहरुका लागि घरैमा गएर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्य भएको छ।
काठमाडौं महानगरपालिकाका कतिपय घरले नक्शा पास नगरिकन घर निर्माण गरिरहेको अवस्थालाई ध्यान पु¥याएर उनीहरुलाई नक्शा पास गर्न मौका दिने जस्ता कार्यले गर्दा काठमाडौं महानगरपालिकाका घरधनीहरुलाई सहुलियत पुगेको छ।

यसवाट महानगरवासीहरु अत्यन्त खुशी नै भएको नक्शा विभागमा देखिएको नक्शा बनाउन थुप्रिएको फाइलको चाङले पनि प्रमाणित गरेको छ। अर्कोतर्फ काठमाडौंको फोहोर–मैलाको विषयमा मेयरलाई नै तिखो व्यंग्य प्रहार गर्ने कार्य हिजोका दिनमा भएजस्तै आजका दिनमा पनि भैरहेको छ।

त्यसलाई दीर्घकालिन समस्या समाधानको लागि फोहोरलाई मोहर बनाउने जस्ता उपलव्धीमूलक कार्यको अलावा फोहोरलाई सही स्थानमा दीर्घकालिन विसर्जन गरेर त्यसवाट प्रांगारिक मल देखि विभिन्न रिसाइक्लिन कार्य गर्ने जस्ता कार्यहरु गर्ने र गराउने कार्य तदारुकताका साथ भैरहेको छ।

रिजल्ट आउने र देखिने गरेर मेयरले गरिदैं आएका कार्यलाई देख्न नसक्ने मात्र नभइकन सफलता हेर्न नै नचाहनेहरुले मेयर शाक्यको विरोध गर्दैआएको पाइन्छ। जुन नकारात्मक सोचको प्रतिक हो।

 

अर्कोतर्फ काठमाडौं महानगरपालिका वाहेकका अन्य महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका मेयरहरुको त्यतिसारो विरोध नआउनु अनि काठमाडौं महानगरपालिकाका मेयरको मात्र विरोध आउनुको पछाडि अरु मेयरले भन्दा धेरै कार्य गरेर हो कि भन्ने स्पष्ट भएको छ। यसअर्थले पनि काठमाडौं महानगरपालिकाका मेयर सफल मेयर भन्ने प्रमाणित भएको छ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७५ साल असोज १५ गते सोमवार ।