काठमाडौ। नेपालको जीवित देवीको रुपमा मानिदै आएको कुमारी परिवर्तन भएको छ। नौ बर्षअघि कुमारी बनेकी मतिना शाक्यको उमेर १२ बर्ष पुगेकोले विजया दशमीको महाअष्टमीका दिन विहीवार विदा गरिएको छ।
![Old Living God of Nepal M/s Matina Shakya back to own home Itumbahal Ktm. Photo by-Rekha Shakya.](http://www.visionsansar.com/wp-content/uploads/2017/09/Old-Kumari.jpg)
Photo by-Rekha Shakya.
मतिनाको स्थानमा ३ वर्षीया बालिका तृष्णा शाक्यलाई राष्ट्रिय जीवित देवी कुमारीकारुपमा प्रतिस्थापन गरिएको छ। महिनावारी सुरु हुनेबेला भएपछि कुमारी परिवर्तन गर्ने परम्पराअनुसार वैदिक, तन्त्र तथा बज्रयानी र शाक्त विधिअनुरुप तलेजु भवानी मन्दिरमा नयाँ कुमारी तृष्णा शाक्यलाई विशेष पूजा गरी कुमारीघर भित्र्याइएको हो।
![Newly Living God Kumari Trishna Shakya. Photo by-Gagan Birahi.](http://www.visionsansar.com/wp-content/uploads/2017/09/New-Kumari.jpg)
गत सोमबार मञ्जुश्री नक महाविहारका विजयरत्न र सिर्जना शाक्यकी छोरी तृष्णालाई गुठी संस्थान, तलेजु भवानी मन्दिरका मूलपुजारी, राजगुरुजु, चिताइदार, राजज्योतिष र शाक्य महाविहार संघका प्रतिनिधिले नयाँ कुमारी घोषणा गरेका थिए। नयाँ कुमारीलाई कुमारीघरमा ९ ग्रहमाथि रहेको मयूरको स्वर्णसिंहासनमा राखेर तान्त्रिकरुपमा पूजा गरी विधिवत् रुपमा राष्ट्रिय देवी जीवित कुमारी बनाइएको हो। त्यसपछि पुरानी कुमारी मतिनालाई कुमारीघरको पूर्व ढोकाबाट राजकीय सम्मानका साथ बिदाइ गरिएको थियो।
सांस्कृतिक बाजागाजाका साथ नगरपरिक्रमा गराइ पुरानी कुमारीलाई इतुम्बुहालस्थित आफ्नो घर पुर्याइएको थियो। काठमाडौंका १८ ओटा महाविहारमध्ये शाक्य वंशको ३२ लक्षणयुक्त कन्यालाई कुमारी बनाउने परम्परा छ। दुई–तीन महिनाअघि १८ विहारमा गोप्यरुपमा कुमारी छनोट प्रक्रिया सुरु गरिन्छ। सबै विहारबाट मनोनीत भएर आएका कन्याको चिना राजज्योतिषलाई देखाइन्छ।
तलेजु भवानीका पुजारी र राजज्योतिषले घाउचोट नलागेका र ३२ लक्षणयुक्त एक कन्यालाई कुमारीमा छनोट गर्ने गरिन्छ । कुमारी हुन कपाल लामो र कालो, अनुहार गहुँगोरो, तेजिलो, दाँत पूरा भएको, निडर, शरीरमा दाग नभएको, आँखाको तेजलगायतका गुण हुनुपर्छ। छानिएकी नयाँ कुमारीलाई पूजारीसहित राष्ट्रप्रमुखकहाँ महाअष्टमीको दिन कुमारी देवी परिवर्तन गर्ने भनेर प्रस्ताव राखिन्छ।
यही परम्पराअनुसार गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग नयाँ कुमारी तृष्णाको परिचय गराइएको थियो। इन्द्रजात्रा, घोडेजात्रा, मच्छिन्द्रनाथ जात्रालगायत गरी १३ पटक कुमारीघरबाट कुमारीको रथायात्रा निकालिन्छ । कुमारीको परम्परा लिच्छविकालबाट सुरु भएको मानिन्छ।
लिच्छवि राजा गुणकामदेवले कन्या केटीलाई कुमारी बनाइ पूजा गर्ने परम्परा बसाएको मानिन्छ । कुमारीघर निर्माण र रथयात्रा थालनीको व्यवस्था भने २५८ वर्षअघि राजा जयप्रकाश मल्लले गरेका हुन् । तान्त्रिक बन्धुदत्त बज्राचार्यले आफ्नै छोरीलाई बुङ्मतीमा कुमारीकारूपमा प्रतिस्थापन गरेकोसमेत भनिन्छ । काठमाडौको बसन्तपुर स्थित घरमा प्रतिस्थापित कुमारीलाई इष्टदेवी तुलजा भवानीको प्रतीककारूपमासमेत मानिँदै आएको छ।
प्रकाशन मिति–२०७४ साल असोज १२ गते विहीवार ।