काठमाडौं। नेपालमा १२० दिन अर्थात चार महिना लामो लकडाउन आज मंगलबार मध्यरातदेखि अन्त्य भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो।

कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । प्रारम्भमा ८ दिनका लागि गरिएको लकडाउन पटक पटक थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम राखेको थियो। त्यसपछि निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेको थियो।

मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा.युवराज खतिवडाले वताएका छन्। लकडाउन हटेपनि कोरोनाभाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था यथावत नै रहने सरकारका प्रवक्ता डा.खतिवडाले भनेका छन्। निजी सवारी साधनमा लागू गरिएको जोर विजोर प्रणाली साउन ६ गतेबाटै हटेको छ भने सरकारी कार्यालय दुई सिफ्टमा चलाउने निर्णय पनि खारेज भएको छ। अब कार्यालयहरु विहान १० बजेदेखि ५ बजेसम्म पहिलाजस्तै यथागत खुल्नेछन्।

त्यस्तै होटल तथा रेष्टुरेन्टहरु साउन १५ गतेबाट खुला गर्न अनुमति दिइएको छ। सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन्। आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला यातायात सेवा भने भदौ १ गतेबाट खुला हुनेछ। भदौ १ गतेबाटै विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ। विद्यालय लगायतका शैक्षिक संस्था तुरुन्तै नखुल्ने भएको छ। अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने मन्त्रिपरिषदको निर्णय छ।

यसका साथै केही क्षेत्रमा प्रतिबन्ध कायमै राखिएको छ। शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन्। सरकारले तोकेका २० नाकाबाट नेपाली नागरिक बाहेक अरुलाई आवागमनमा लगाइएको रोक साउन ३२ गतेसम्म कायमै रहने भएको छ।


प्रकाशन मिति–२०७७ साल साउन ६ गते मंगलवार ।