काठमाडौ। बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको पहल(बिमस्टेक)को चौथो सम्मेलनका लागि एजेन्डा तय गर्ने विदेश सचिवस्तरीय बैठक सम्पन्न भएको छ।

काठमाडौको ताहाचल कालिमाटी स्थित सोल्टी होटलमा सम्पन्न बैठकले बिमस्टेकका प्राथमिकताका क्षेत्रको समीक्षा, बडापत्र निर्माण, विद्युतीय लाईन विस्तारलगायतका बिषयमा छलफल र सहमति भएको हो।

बैठकमा बिमस्टेकका सरोकारका १४ वटा विभिन्न प्रतिवेदनमा छलफल भएको थियो। ब्यापार तथा लगानी, यातायात तथा सञ्चार, सीमापार अपराध, प्रतिआतंकबाद, गरिबी निवारण, कृषिलगायतका विषयका प्रतिवेदन बैठकमा पेश भएका थिए।

बैठकले बिमस्टेकले हाल तय गरेका १४ वटा प्राथमिकता क्षेत्रलाई पुनर्विचार गर्ने सहमति गरेको छ। १९ औ चरणको सचिवस्तरीय बैठकले बिमस्टेकको वडापत्र बनाउने विषयमा पनि सैद्दान्तिक सहमति कायम गरेको छ।

चौथो शिखर सम्मेलनका लागि चासोका साथ हेरिएको अन्तरदेशीय विद्युत् प्रसारण लाईन (पावर ग्रीड इन्टरकनेक्सन) सम्झौता गर्न यो बैठकमा सहमति जुटेको बताइएको छ।

प्रकाशन मिति–२०७५ साल भदौ १२ गते मंगलवार ।