ललितपुर। विहीवार रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न स्वतःस्फूर्त निस्केको युवाहरु र प्रहरी वीच झडप भएपछि स्थितिलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ।

शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो। अहिले ती क्षेत्र सुनसान छन् भने सुरक्षा जाँचमा कडाइ गरिएको छ। अत्यावश्यकबाहेक कसैलाई पनि बाहिर निस्कन दिइएको छैन। कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यूको घोषणा गरेको हो।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार शान्ति सुरक्षा र अमनचयनमा बाधा पर्ने गरी गतिविधि देखिए कर्फ्यू लगाउन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ। कर्फ्यू बल्खु पुलदेखि मनहरा पुलसम्मका ललितपुरमहानगरपालिका भित्रको चक्रपथ क्षेत्रमा जारी रहेको छ।

अत्यावश्यक काम वाहेक अत्यर गरेर वाहिर निस्केमा गोली समेत हान्ने अधिकार भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टव्दारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ। कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि हुन दिइँदैन। प्रेस, कूटनीतिक नियोग, सरकारी सवारीहरूलाई आवागमनमा बाधा भने गरिएको छैन्।
प्रकाशन मिति–२०७७ साल भाद्र १९ गते शुक्रवार ।