ललितपुर । सहकालको देवता रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पुलचोकमा विहीवार दिउंसो झडप भएपछि स्थानीय प्रशासनले ललितपुरमा कर्फ्यू लगाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि मिति २०७७ साल भाद्र १९ गते शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।

विहीबार साँझ बसेको जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय जनप्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अवस्था सामान्य बनाउन कर्फ्यू जारी गरिएको बताएका छन्।

बैठकमा रथलाई पुल्चोकदेखि ७ सय मिटर अघिसम्म तान्ने र भाद्र २६ गते बुङ्गमती लैजाने निर्णय गरिएको जनाएको छ। यस्तै झडपका क्रममा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गर्ने १० जनालाई जावलाखेल प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुमाथि तत्काल कारबाही हुने ललितपुरका एसएसपी टेक प्रसाद राईले भनेका छन्।


प्रकाशन मिति–२०७७ साल भाद्र १८ गते विहीवार ।