ललितपुर। कोरोना संक्रमणको महामारीको कारण जारी उपत्यकामा लकडाउन अर्थात निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि पुलचोकमा झडप भएको छ। स्थानीय र प्रहरीबीचको झडपले उग्ररुप लिएपछि प्रहरीले अश्रु ग्यास हानेको छ। रथ तान्न तम्सेका युवाहरुलाई रोकेपछि झडप भएको हो।

रथ तानेर सडकको बीच भागमा पुर्‍‌याइएको छ। रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएपछि आन्दोलनकारीले प्रहरीको मोटरसाइकल जलाएका छन्। दिउँसो १ बजेपछि भने अवस्था तनावपूर्ण बन्दै गएको थियो। प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए। प्रहरीले वाटर क्यानन लिएर पुगेपछि प्रहरीमाथि ढुंगामुडा प्रहार भएको थियो। त्यसपछि प्रहरीले पानीको फोहराले हान्न थालेको थियो।

यसअघि रथयात्राका लागि पुल्चोकमा जम्मा भएका स्थानीय युवाहरुले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। बिहानैदेखि सयौं संख्यामा स्थानीय जम्मा भएका थिए। कुनै अप्रिय घटना हुन नदिन बाक्लो संख्यामा प्रहरी उपस्थित गराइएको थियो। कोरोना संक्रमण फैलिने भन्दै प्रहरीले स्थानीयलाई माइकिङ गरेर घर जान आग्रह गरेको थियो।

मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा तोडेर रथ तानेको बताइएको छ। असोज २ देखि मलमास सुरु हुँदैछ। कोरोना महामारीका कारण निर्धारित तिथिमा हुन नसकेको रथ जबरजस्ती तानिएको हो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा मिचेका हुन्।

लकडाउन खुकुलो भएपनि उपत्यकामा संक्रमितहरुको संख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित गरेको थियो। कोरोनाका कारण उपत्यकामा धार्मिक गतिविधि तथा जमघटमा रोक लगाइएको छ। वैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरु हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ। रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ।
प्रकाशन मिति–२०७७ भाद्र १८ गते विहीवार ।