काठमाडौं। कोरोना संक्रमण महामारीको कारण काठमाडौं उपत्यकामा जारी दोश्रो हप्ताको लकडाउनमा फेरि एक हप्ता थपेको छ। गृह मन्त्रालयसँग छलफल गरेपछि काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा अर्थात लकडाउन थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो।

यो निर्णयसँगै अब, काठमाडौं उपत्यकामा भाद्र २४ गते बुधवारसम्म लकडाउन जारी रहनेछ। भाद्र ३ गतेको मध्यरातदेखि जारी निषेधाज्ञा भाद्र १७ गते बुधवार मध्यराति सकिने भएपछि अरु एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले वताएका छन्।

यसपटक केही सेवा सञ्चालनका लागि छुट दिइएको छ। निषेधाज्ञाका समयमा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिने जनाइएको छ। भन्सार तिरेका गाडी र मोटरसाईकल पनि काठमाडौं उपत्यकामा ल्याउन दिइने छ। स्वास्थ्य मापदण्ड पूरा गरेर कारखानाभित्रै मजदुर राख्नेगरी उद्योगधन्दा चलाउन दिने निर्णय पनि गरिएको छ।

थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाइने निर्णय पनि स्थानीय प्रशासनको छ। होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन्। बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन्।
प्रकाशन मिति–२०७७ साल भाद्र १७ गते बुधवार ।