काठमाडौँ। कोरोना संक्रमणको हटस्पट बन्दैगएको काठमाडौं उपत्यकाको वर्तमान स्थितिलाई मध्यनजर राखेर काठमाडौंमा उचित स्वास्थ्य व्यवस्थापन सहितको दुई हप्ते स्वास्थ्य संकटकाल घोषणा गर्न आवश्यक भएको छ। यस संवन्धमा बागमती प्रदेशका प्रभावशाली लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्यले वर्तमान अवस्थालाई हेरेर संक्रमण फैलिएको स्थान र क्षेत्रलाई स्वास्थ्य संकटकाल घोषणा गर्नु उपयुक्त भएको राय प्रकट गरेका छन्।

यसमा नागरिक तहबाट पनि सहयोगको आवश्यकता भएको भन्दै दुई हप्ता देखि तीनहप्तासम्ममको स्वास्थ्य संकटकाल घोषणा गरी ‘पव्लिक मोविलिटी’ पूर्ण रुपमा नियन्त्रण गर्न सकिने वताएका छन्। सांसद डा.शाक्यले संकटकाल घोषणा गर्नु दुई– तीन दिन अघि नै सार्वजनिक सूचना व्यापक मात्रामा दिएर जनतालाई घर भित्रै दुई हप्ता बस्नका लागि चाहिने आवश्यक बस्तुहरु व्यवस्थापन गर्न लगाउने जरुरी रहेको पनि भनेका छन्।

संकटकालको समयमा अहिलेको लकडाउन जस्तो खुकुलो गर्न नहुने र अति आवश्यक बाहेक पूर्ण रुपमा निषेधाज्ञा पालना गर्न लगाउनु पर्ने धारणा सांसद डा.शाक्यको रहेको छ। यो कठिन अवस्थालाई युद्धको अवस्था सम्झेर सरकारले दिएको आदेशहरु जनताले आफ्नो कर्तव्य ठानी पूर्ण पालना गर्नुपर्ने पनि सल्लाह पनि सांसद डा.शाक्यको छ।

त्यस्तो बेलामा दिनदिनै कमाएर खानु पर्ने समाजका विपन्न तथा मध्यम वर्गलाई दुईहप्ता घरभित्रै बस्ने बातावरण बनाउन स्थानीयलाई स्थानीय सरकारले दुईहप्ताका लागि आवश्यक सामाग्री राहत स्वरुप उपलब्ध गराउनु पर्ने माग पनि डा.शाक्यको रहेको छ। दैनिक कमाएर खानु पर्नेका लागि संघीय र प्रदेश सरकारले उक्त अवधिका लागि राहतको व्यवस्था गर्नुपर्छ। यसो भयो भने ती क्षेत्रहरुमा कोभिड–१९ को भाइरस न्यून हुनजान्छ। जसवाट समुदायमा संक्रमण फैलिन नपाउने निश्कर्ष पनि सांसद डा.शाक्यको रहेको छ।

डा.शाक्यले भने–“जुन ठाउँमा स्वास्थ्य संकटकालको घोषण भएको छ । ती–ती स्थानमा संक्रमण भएका व्यक्तिहरुलाई आइसोलेसनमा राख्ने र नेपाल सरकार र विश्व स्वास्थ्य संगठनलेबनाएको आइसोलेसनको मापदण्ड बमोजिम संक्रमित व्यक्तिलाई उपचार गर्नुपर्छ । लक्षण देखापर्न बाँकी रहेका, सामान्य लक्षण देखा परेका विरामीलाई आइसोलेसन वा होम आईसोलेसनमा राख्नुपर्छ । निकै संक्रमित भएकालाई भने अस्पताल नै लगि डाक्टरको सल्लाह बमोजिम उपचार गरिहाल्नु पर्दछ । त्यति मात्रै होइन, पछि संक्रमण बढेमा स्थीति भयावह हुने कुरालाई ध्यान दिएर अहिले नै अस्पतालहरुमा चाहिने पर्याप्त मात्रामा आईसियूको व्यवस्थापन, भेन्टिलेटर र औषधिको व्यवस्थापन गर्नुपर्छ ।”

सांसद डा.शाक्यले कोभिडको सक्रमण फैलिन नदिन विभिन्न सूचनाहरु मात्र होइन कोभिड भएकाहरुलाई समेत प्रोत्साहित गर्ने खालका सामाजिक चेतनामूलक सूचनाहरु व्यापक रुपमा प्रचार गर्नुपर्नेलगायतका पनि सुझाव दिएका छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र १७ गते बुधवार ।