काठमाडौ। केही बर्षयता महिलाहरुको लागि व्युटीपार्लर व्यवसाय स्वरोजगारको व्यवसाय बन्न थालेको छ। अर्ध–शिक्षित देखि शिक्षित महिलाहरु पनि यस व्यवसायमा आकर्षित बनेको पाइएको छ। कतिपय अवस्थामा आफ्नैलागि पनि काम लाग्ने व्युटीपार्लर सीप सिक्न महिला दिदीबहिनीहरुको अक्सर चासोको विषय नै बन्ने गरेको छ। यही चासोको विषय बन्दैगएको व्युटीपार्लर व्यवसायको सीपमूलक तालिम दिने कार्य पनि कम होइन्। च्यालेन्जको कार्य बन्दैआएको व्युटीपार्लर तालिम प्रदान गर्ने कार्य व्युटीपार्लर तालिम प्रशिक्षक शान्ति श्रेष्ठ अहोरात्र यसैमा लाग्दैआएकी छन्।
महिला दिदीबहिनीहरुमा देखिएको बढ्दो यस पेशाप्रतिको आकर्षणले आफूपनि सामान्य प्रशिक्षार्थी हुंदै प्रशिक्षक समेत बन्न सफल भएको बताउने तालिम प्रशिक्षक श्रेष्ठले हालसम्म सयौंलाई प्रशिक्षण दिएर यस पेशामा दक्ष बनाइसकेका छन्। उनीवाट प्रशिक्षण पाएका व्युटीपार्लरका धेरै प्रशिक्षार्थीहरुले व्युटीपार्लर खोलेर स्वरोजगार बनिसकेका छन्। कतिपय प्रशिक्षार्थीहरु विदेशका राम्रा व्युटीपार्लरहरुमा राम्रो जागिरे बनेर कार्यरत छन्। यसलेगर्दा पनि आफूले गरेको अहोरात्र मेहनतको आफूले प्रतिफल पाएको जिकिर व्युटी एक्सपर्ट श्रेष्ठको रहेको छ।
संकल्प विकास केन्द्र नेपाल नामक सामाजिक संस्थाबाट प्रदान गरिने व्युटीपार्लर तालिममा प्रशिक्षक भएर कार्य गर्दैआएकी उनमा बेग्लै जोश रहेको छ। सीपमूलक तालिम दिएर बेरोजगारलाई रोजगार बनाउने कार्यमा दत्तचित्त बनेर अगाडि बढिरहेकी उनी महिला दिदीबहिनीहरुको व्युटीपार्लर तालिम अत्यन्त आवश्यक भएको भन्छिन्। व्युटीपार्लर तालिम पश्चात घरैमा बसेर व्युटीपार्लर व्यवसाय शुरु गर्न सकिने तथा व्युटीपार्लरमा जागिरे बनेर पनि कार्य गर्न सकिने उनको धारणा रहेको छ।
अर्कोतर्फ विदेशमा नर्स पेशापछि व्युटीपार्लर तालिम प्राप्त व्युटीसियनहरुको निक्कै नै डिमाण्ड रहेको छ। यसले पनि व्युटीपार्लर व्यवसाय सम्मानजनक पेशा भएकोले डिग्रीहोल्डरहरु पनि संकल्प विकास केन्द्र नेपालको व्यावसायिक सीपमूलक तालिम विभागमा व्युटीपार्लर तालिम लिन आउने गरेको उनले खुलासा गरेकी छन्।
दिनप्रतिदिन सम्मानित बन्दैगएको व्युटीपार्लर व्यवसाय महिला दिदीबहिनीहरुको आकर्षणको पेशा बनेको छ। रहरलाग्दो यो पेशामा आउन चाहनेहरुमा धैर्य हुनु अतिआवश्यक भएको पनि तालिम प्रशिक्षक श्रेष्ठले भनेकी छन्। धैर्य र समय दिएर काम गर्न सकेमा यो पेशामा लाग्नेहरु कहिले पनि भोको नहुने उनको दावी रहेको छ।
प्रकाशन मिति–२०७२ साल मंसिर ११ गते शुक्रबार ।