काठमाडौं । नेपाली चलचित्र उद्योगका बुलन्द जोडी कलाकारत्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले संचालनमा ल्याएको नयाँ सिनेमा हलको शुभारम्भ भएको छ। काठमाडौंको नयाँ बाँनेश्वर शंखमूल स्थित ‘आइएनआई सिनेमाज्’को शुत्रवार शुभारम्भ भएको हो।  

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र ख्यातिप्राप्त हांस्य अभिनेता हरिवंश आचार्यले रिवन काटेर उदघाटन गरेपछि कलाकारत्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले सिनेमा हल शुभारम्भ भएको घोषणा गरेका थिए। 

Deepa-Deepak-Nirmal Hal 41694775925.jpg

अभिनेत्री दीपाश्री निरौलाका अनुसार, आईएनआइको व्यवस्थापन भएको सिनेमा हलमा २ पर्दा छन् । जसमा २१० र १७७ सिट क्षमता छ । उद्घाटन कार्यक्रममा बोल्दै हल संचालक दीपकराज गिरीले नेपाली फिल्मलाई ५० प्रतिशत शेयर दिने घोषणा समेत गरे । उनले भने–‘निर्माताहरुको असन्तुष्टी शोज बाँडफाँडमा त छदै छ । शेयरमा पनि हो । यो बिषयमा कार्यदलले छलफल गरिरहेको छ । तर, हामी भने यो हलमा नेपाली फिल्मलाई ५०  प्रतिशत शेयर दिने घोषणा गर्दछौं ।’

Deepa-Deepak-Nirmal Hal 21694775924.jpg

नेपाली फिल्मले रिलिजको पहिलो साता ५०, दोश्रो साता ४५, तेश्रो साता ४० र त्यसपछि ३५ प्रतिशत शेयर पाउँदै आएका छन् । तर, अब आइएनआई नयाँ बाँनेश्वरमा भने नेपाली फिल्म जति साता चलेपनि ५० प्रतिशत नै शेयर पाउनेछन् । 

कार्यक्रममा बोल्दै दीपकराज गिरीले नेपाली फिल्मलाई प्राथमिकता दिने बताए । उनले, निर्माताबाट हल संचालक बन्दै गर्दा आफूले बिचमा बसेर कुरा गर्नुपर्ने अवस्था आएको बताए । कार्यक्रमका प्रमुख अतिथी चन्द्र ढकाल र विशेष अतिथी हरिवंश आचार्यले हलको सफलताको शुभकामना दिए । 

 करिब १० करोड बजेटमा तयार पारिएको हलमा अत्याधुनिक प्रविधि जडान गरिएको बताइएको छ । साउन्ड सिस्टममा पनि नेपालमै पहिलो पटक नयाँ प्रविधि भित्राइएको अर्का हल संचालक निर्मल शर्माको भनाई छ।

Deepa-Deepak-Nirmal Hal 31694775925.jpg