काठमाडौं। १५ दिनअघि मात्र पेट्रोल लिटरमा एक रुपैयाँ बढाएको नेपाल आयल निगमले मंगलबार रातीबाट लागु हुनेगरी प्रतिलिटर २ रुपैयाँ बढाएको छ। जसवाट पेट्रोल लिटरको १ सय ७ रुपैयाँ पुगेको छ। निगमले डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ।

यसरी १५ दिनमा गरिएको मूल्य बृद्धिको विरोध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गरेको छ। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेविसंघले सरकारसँग माग गरेको छ। एकै महिनामा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा अन्य क्षेत्रमा पनि मूल्यवृद्धि हुने भन्दै नेविसंघले मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको हो।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले महामारीले जनताको जिवनयापन अत्यन्तै असहज र कष्टकर भरहेको र थप राहत, सहुलियतको जरुरी रहेको समयमा सरकार निरन्तर नागरिकलाई थप पीडा दिन र चुल्हो बन्द गराउन उद्धत रहेको आरोपसमेत लगाएका छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र १७ गते बुधवार ।