काठमाडौ । पेशागत लेखापरीक्षकहरुको एकमात्र छाता संगठन नेपाल अडिटर्स एशोसिएसन (अडान) को केन्द्रिय कार्य समितिको आठौ बैठक सम्पन्न भएको छ । देशभरका सम्पूर्ण दर्तावाला लेखापरीक्षकहरुको संगठन नेपाल अडिटर्स एशोसिएसन (अडान) को केन्द्रिय कार्य समितिको आठौ बैठक शनिवार काठमाडौंमा सम्पन्न भएको हो।

केन्द्रिय कार्य समितिको आठौ बैठकमा देशभरबाट लेखापरीक्षकहरुको प्रतिनिधित्व गर्ने केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुले संघियता कार्यान्वयन संगै संघ, प्रदेश र स्थानीय तहले निर्माण गर्ने केही कानूनहरुमा लेखापरीक्षक भन्ने शब्द लेख्नु पर्ने ठांउमा लेखापरीक्षकहरुले लिने डिग्री जस्तो सिए, उल्लेख गरेको पाईएकाले सो हटाउन नेपाल सरकार र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) संग जोडदार मांग गरेको छ।

सहकारी, शिक्षा नियमावलीहरु लगायत अन्य ऐन कानूनहरुमा लेखापरीक्षकको मर्यादा, निष्पक्षता र अधिकारलाई आंच पुर्याउने गरी प्रस्तुत प्रावधानहरु खारेज गर्न माग गर्दै स्थानिय र प्रदेश सरकारले आफ्नो अधिकार प्रयोग गर्ने क्रममा देखिएका द्धिविधा तथा अन्य ऐनहरुमा बाझिएका कुराहरु निराकरण गर्नका लागि आवश्यकता अनुसार संघिय सरकारसंग समेत समन्वय गरि लेखा तथा लेखापरीक्षणसंग सम्बन्धित अन्तराष्ट्रिय प्रचलन एवं लेखाका मान्य सिद्धान्तको बिपरित नहुने गरि आवस्यक कानुन परिमार्जन गर्न पनि अपिल गरेको छ ।

बैठकमा नेपाल अडिटर्स एशोसिएशन (अडान) ले आफ्नो पाचौं राष्ट्रिय महाधिबेशन आगामी २०७६ जेष्ठ १७ र १८ गते काठमाण्डौमा गर्ने निर्णय गर्नुका साथै जिल्ला अधिबेशन २०७६ बैशाख १५ सम्म र प्रदेश अधिबेशन २०७६ बैशाख मसान्तभित्र सम्पन्न गर्न संवन्धित प्रदेशको उपाध्यक्ष र सचिबलाई समन्वय गर्ने गरि सबै केन्द्रिय सदस्यहरुलाई अधिवेसन गराउन जिम्मेवारी समेत तोकेका छन् ।

बैठकले संस्थाका महासचिब डोलप्रसाद दाहालद्घारा सागठनिक, कोषाध्यक्ष केशबराज आचार्यले आर्थिक प्रतिवेदन, उपाध्यक्ष केदारनाथ पौडेलद्घारा अडान स्थापनादेखि हालसम्मको उपलब्धी, उपाध्यक्ष बद्री प्रसाद भट्टराईले पेशागत दक्षता अभिबृद्धि, उपाध्यक्ष केश वहादुर केसीले लेखापरीक्षकहरुको काम, कर्तब्य अधिकार, उपमहासचिब झलकमणि लम्सालले ऐन कानुन नियम निर्देशिकामा भएका परिबर्तन सम्बन्धि प्रतिबेदनहरुमाथि छलफल गरि पारित गरेको छ । श्रम ऐन र सामाजिक सुरक्षाका बिषयमा श्रोत ब्यक्ति । कानुन व्यबसायी रमेश बडालले प्रशिक्षित गराएको थियो ।

प्रकाशन मिति–२०७५ साल फागुन १२ गते आइतवार ।