ओखलढुंगा। ओखलढुंगाको विकट खिजी देम्बा गाउंपालिकामा हिमपातका बाबजुद पनि आँखा शिविर संपन्न गर्ने आङ पासाङ शेर्पा सम्मानित बनेका छन्। पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता शेर्पाले आँट, धैर्य तथा साहसपूर्वक आँखा शिविर संचालन गरेर सयौंलाई सेवा प्रदान गरेवापत उक्त सम्मान प्रदान गरेको हो।

खिजी देम्बा गाउंपालिकामा आयोजित भव्य कार्यक्रम वीच शेर्पालाई मंगलवार सम्मान गरिएको हो। खिजी देम्बा गाउंपालिकाका अध्यक्ष बेदवहादुर रोक्कान तथा उपाध्यक्ष सुशीला तामा र वडा अध्यक्ष रामकुमार सुनुवारले संयुक्त रुपमा शेर्पाको सम्मान गरेका हुन्। शेर्पाको पहलवाट गत माघ महिनामा हिमपातका बाबजुद पनि खिजी देम्वा गाउंपालिकाका वडा नंबर ३, ४, ५, ६, ७ र ९ का स्थानीय वासिन्दाहरुको आँखा उपचार गर्नुको अलावा आँखाको मोतिविन्दुको सफलतापूर्वक शल्यक्रिया पनि भएको थियो।

उक्त शिविरमा ६९ जनाको आँखाको मोतिविन्दु रोगको शल्यक्रिया भएको थियो भने, २ हजार २ सय ५० जनाले सेवा प्राप्त गरेका थिए। आँखाको मोतिविन्दुको कारण आँखा देख्न नपाएकाहरुले समेत आँखा राम्ररी देख्न पाउंदा त्यति धेरै दुःख गरेर खिजी देम्वा गाउंपालिका आउने आङ पासाङ शेर्पा लगायतका चिकित्सक टोलीलाई स्थानीय गाउंलेहरुले धन्यवाद तथा आभार समेत प्रकट गरेका छन्।

प्रकाशन मिति–२०७५ साल फागुन १२ गते आइतवार ।