काठमाडौं। नेपाल अडिटर्स एशोसिएशन (अडान)ले चौधौं स्थापना दिवस मनाएको छ। को अवसरमा मिति २०७६ साल श्रावण २० गते सोमवार देशब्यापी रुपमा अडानले स्थापना दिवस मनाएको हो।

काठमाडौमा रक्तदान र सेमिनार कार्यक्रम सहित महालेखापरीक्षक टंकमणि शर्मा(दंगाल)को प्रमुख आतिथ्यतामा “अडान डे” कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेस कुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, आइक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्य लगायतको विशेष आतिथ्यता रहेको भने सबै लेखाब्यवसायीहरुसँग सम्बद्ध संघ–संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष मोहनराज रेग्मी, सञ्चालन महासचिव झलकमणि लम्साल र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष एवं पार्षद केदारनाथ पौडेलले गरेका थिए। अध्यक्ष मोहनराज रेग्मीले दर्तावाला लेखापरीक्षकको अनुभव १३ वर्ष भन्दा माथि रहेको हालको अवस्थालाई मध्यनजर गर्दै दर्तावाल लेखापरीक्षहरुलाई “क” वर्गमा वर्गाेन्नतीका लागि जोडदार माग गरे।

“अडान डे” को अवसरमा नै उपत्यका प्रदेश समितिले आयोजना गरेको रक्तदानमा झण्डै ७५ जनाले रक्तदान गरेका थिए। मुलुकभरका विभिन्न जिल्ला तथा प्रदेश समितिहरुले अन्तरक्रिया, सेमिनार, गोष्ठी, रचनात्मक सामाजिक उतरदायित्वका क्रियाकलाप रक्तदान, बृद्घहरुलाई खाना खुवाउने, असहायहरुलाई कपडा बितरण,फलफुल बितरण , पदयात्रा सहितका कार्यक्रम गरि अडानको चौधौं स्थापना दिवस मनाइएको छ।

कार्यक्रममा अडान काठमाण्डौद्रारा प्रकाशित अडान अर्थमाला ३ जर्नलको पनि बिमोचन गरिएको थियो। अडानले आफना सम्पूर्ण सदस्यहरुलाई पेशागत आचरण र चरित्रलाई पालना गर्न आग्रह गर्दै आचारसंहिता बमोजिम कार्य गर्न अनुरोध समेत अनुरोध गरेको छ । १३ वर्षअघि स्थापना भएको अडानमा मुलुकभरका करीव ७ हजार २ सय सदस्यहरु रहेको जानकारी अडानका उपाध्यक्ष तथा प्रचार–प्रसार विभाग प्रमुख डोलप्रसाद दाहालले भिजन संसार डटकमलाई दिएका छन्।


प्रकाशन मिति–२०७६ साल साउन २१ गते मंगलवार ।