काठमाडौ। नेपालका तीन ठूला विद्यार्थी संगठनले चैत्र १७ गते शनिबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ। एसइई परीक्षा तथा कतिपय स्कुलहरुको अन्तिम परीक्षा संचालन भैरहेको यो समयमा हडताल घोषणा हुंदा विद्यार्थी, अभिभावक तथा शिक्षक अन्यौलमा परेका छन्।

अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको बिहीबार सम्पन्न संयुक्त बैठकले शिक्षा ऐन नवौँ संशोधन खारेज र २३ चैतमा शिक्षक सेवा आयोगले लिन लागेको परीक्षा स्थगित गर्न माग गरेको छ। माग पूरा गराउन चैत्र १६ गते शुक्रबार देशभरका कलेजअगाडि प्रदर्शन र आधा घन्टा चक्काजाम तथा काठमाडौको माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरिएको छ।

लाखौँ विद्यार्थीको भविष्य अन्धकार बनाउने गलत मनसायले शिक्षा ऐन नवौँ संशोधन विरुद्ध अनिश्चितकालिन शैक्षिक हडतालको घोषणा गरिएको ती तीन विद्यार्थी संगठनहरुले जनाएको छ। उनीहरूले ऐन खारेज र चैत्र २३ गतेको अस्थायी शिक्षकको परीक्षा स्थगित गर्न शिक्षा मन्त्रीलाई संयुक्त ज्ञापनपत्रसमेत बुझाइसकेका छन्।

बैठकमा अनेरास्ववियु अध्यक्ष नविना लामा, नेविसंघ अध्यक्ष नैनसिंह महर र अखिल क्रान्तिकारीका रञ्जित तामाङलगायतको उपस्थिति थियो। विद्यार्थी संगठनहरुको माग बमोजिम यसैवीच सरकारले चैत्र २३ गते लिन लागेको अस्थायी शिक्षकको परीक्षा स्थगित गरेको छ।
प्रकाशन मिति–२०७४ साल चैत्र १६ गते शुक्रबार ।