काठमाडौं। अमेरिकाको इतिहासमै पहिलो पटक कच्चा तेलको मूल्य ऋणात्मक भएको छ। कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल झरेपछि ऋणात्मक बनेको हो। कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम हुनपुग्दा तेलको मूल्यमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ।

अमेरिकामा तेलको बेन्चमार्क मानिने वेस्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई) मा मूल्य घटेर माइनस ३७.६३ डलर प्रतिब्यालेर पुगेको छ। यो गिरावटले विश्वभरका तेल बजारमा असर परेको छ। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्य ८.९ प्रतिशत घटेको छ। यहाँ तेलको मूल्य घटेर २६ डलर प्रतिब्यारेल भएको छ।

यसरी गिरावट हुनुको अर्थ, तेल उत्पादक देशहरुले अब खरिदकर्तालाई पैसा दिएर तेल किन्न अनुरोध गर्नुपर्ने अवस्था आएको हो। तेल नबिक्दा उत्पादक मुलुकहरुमा भण्डारणको समस्या बढ्ने देखिएको छ। लकडाउनका कारण विश्वभरका मानिस घरभित्रै रहँदा तेलको माग घटेको छ। उता भण्डारण गर्ने ठाउँ सकिएपछि तेल कम्पनीहरु ट्यांकरसमेत भाडामा लिएर तेल राख्न बाध्य भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेलको मूल्यमा ऐतिहासिक गिरावट आउँदा चासो बढ्नु स्वाभाविक हो भन्दै अमेरिकी सरकारले तेलको मूल्य सही बाटोमा ल्याउने बताएका छन्। कच्चा तेलको मूल्य पहिलोपटक ऋणात्मक भएको मौकामा आफ्नो इन्धन भण्डारणस्थललाई भरेर राख्ने बताउँदै उनले भनेका छन्, ‘यही मौकामा हामी हाम्रो पेट्रोलियम भण्डार भरेर राख्ने छौं। हामी कूटनीति भण्डार गर्दैछौं। हामी करिब ७.५ करोड ब्यारेल तेल रिजर्भ गरेर राख्न चाहान्छौं।’

यसै महिनाको सुरुवातमा तेल उत्पादक देशहरुको संगठन ओपेकका सदस्य देशहरुले तेल उत्पादन १० प्रतिशत घटाउन सहमति गरेका थिए। तर, तेल उत्पादनमा कटौती गरेर समस्या सुल्झिएन र भाउ ऋणात्मक बन्न पुगेको हो। समुद्र र जमिनमा पनि भण्डारणस्थल भरिएको र राख्ने ठाउँ अभाव हुँदा थप समस्या आएको बताएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख ९ गते मंगलवार ।