Californiya Crime

काठमाडौ। अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चलाएर तीन जनाको हत्या गरिएको छ। क्यालिफोर्नियाको सान बर्नाडिनोमा रहेको प्राथमिक विद्यालयको कक्षा कोठामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक बालकसहित तीन जना मारिएको स्थानीय प्रहरीले जनाएको छ।

अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार आक्रमणकारीले कक्षा कोठामा अध्यापन गराइरहेकी शिक्षिका र बालबालिकालाई गोली हानेका हुन्। गोली प्रहारवाट मारिएका शिक्षिका गोली प्रहार गर्ने व्यक्तिको श्रीमती रहेको प्रहरीले जनाएको छ। गोली लागेर शिक्षिका र उनको पछाडी रहेका दुई बालबालिका गम्भीर घाइते भएकोमा ८ वर्षका बालकको मृत्यु भएको छ।

अरुलाई गोली हानेपछि आक्रमणकारीले आफैलाई पनि गोली हानेका थिए। प्रहरीले घटनालाई हत्या र आत्महत्या रहेको बताएको छ। लस एन्जल्सबाट ९६ किलोमिटर पूर्वमा रहेको नर्थ पार्क एलिमेन्ट्री स्कुलमा उक्त घटना भएको हो। आक्रमणकारी हतियार लुकाएर भिजिटरका रुपमा विद्यालयमा प्रवेश गरेका थिए। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल चैत्र २९ गते मंगलवार ।