काठमाडौ। विश्वको अति शक्तिशाली मुलुक अमेरिकाको ४५ औं राष्ट्रपतिको निर्वाचन अमेरिकाको स्थानिय समय अनुसार आज मंगलवार हुँदैछ। अमेरिकी राष्ट्रपति बन्नका लागि रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प, डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन, ग्रिन पार्टीका तर्फबाट जिल स्टेन र लिबर्टेरियनबाट ग्यारी जोनसन अन्तिम प्रतिस्पर्धामा छन्। यद्यपी मुख्य रुपमा क्लिन्टन र ट्रम्पबीच प्रतिस्पर्धा हुने भएको छ।

trump-clintonपछिल्लो मत सर्वेक्षणले हिलारी क्लिन्टन ट्रम्पभन्दा करिब चार प्रतिशतले अघि रहेको देखाएको छ। ट्रम्पलाई निर्वाचन आफ्नो पक्षमा पार्न चार वर्षअघि मीट रोमनीले जित निकालेको नर्थ क्यारोलिना र एरिजोना राज्यमा जित्नैपर्ने अवस्था छ भने अमेरिकी राष्ट्रपति बाराक ओबामाले जितेको फ्लोरिडा, ओहायो र लोवाको परिणाम उल्टाउनुपर्ने छ।

ती मध्ये कुनै पनि राज्यको निर्वाचन गुमाएको खण्डमा उनलाई २ लाख ७० इलेक्ट्रोरल भोट हासिल गर्न भने कठिनाई पर्ने देखिएको छ। क्लिन्टनलाई जित निकाल्न महिला, कलेजका मतदाता र ल्याटिन अमेरिकी मूलका भोटरलाई आफ्नो पक्षमा पार्नुपर्नेछ। राष्ट्रपतिमा निर्वाचित हुनका लागि कूल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक पर्छ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ४ सय ३५, माथिल्लो सदन सिनेटको संख्या १ सय एवम् डिस्ट्रिक अफ कोलम्बियाको ३ इलेक्ट्रोरल मतका आधारमा इलेक्ट्रोरल मतको समीकरण संख्या ५ सय ३८ तय गरिएको हो। जनसंख्या अर्थात् कंग्रेसमा हरेक राज्यको प्रतिनिधित्वको आधारमा राज्यको इलेक्ट्रोरल मत निर्धारण गरिएको हुन्छ।

सधैंझैं यस पटक पनि आर्थिक मुद्दा निर्वाचनको प्रमुख एजेन्डा छ । क्लिन्टनले दुई प्रतिशत धनाढ्य वर्गको कर वृद्धिको प्रस्ताव गरेकी छन् भने ट्रम्पले हाल विद्यमान ३५ प्रतिशतको कर्पोरेट कर १५ प्रतिशतमा झार्ने नीति लिएका छन्। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल कात्तिक २३ गते मंगलवार ।