काठमाडौ। अमेरिकाको न्यूयोर्कमा नेपाली उत्पादनहरुको प्रवद्र्धनको लागि ३ दिने नेपाल व्यापार मेला हुने भएको छ। अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको संस्था वल्र्ड बिजनेशस म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट एलएलसीको आयोजनामा आगामि सेप्टेम्बर ३० देखि अक्टुबर २ तारिख सम्म सो मेला आयोजना गर्न लागिएको हो । न्यूयोर्कको म्यानहन्टनमा आयोजना हुने मेलालाई ‘नेपाल एक्जीबिसन एण्ड ईन्टरनेशनल ट्रेड शो’ नाम दिइएको छ ।

Nepal Trade exibition in USA

नेपाल र अमेरिकाबीच व्यापार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको व्यापार मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरु सहभागि हुने जनाईएको छ । नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्वबजारसम्म लैजान सजिलो होस भन्ने उद्देश्यका साथ मेला आयोजनाको तयारी अगाडि बढाइएको आयोजकले जनाएको छ । मेलामा ७० प्रतिशत नेपालभित्रका र ३० प्रतिशत नेपाल बाहिर उद्योगी व्यवसायीहरु सहभागि हुने जनाइएको छ।

आयोजक संस्था वल्र्ड बिजनेशस म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट एलएलसीका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले मेलाको सफल आयोजना पश्चात नेपाल–अमेरिका व्यापारमा नयाँ युगको सुरुवात हुने बताए । नेपालबाट अमेरिका निर्यात हुने विभिन्न वस्तुहरुमा हालै अमेरिकाले भन्सार छुट दिएको उल्लेख गर्दै रेग्मीले त्यसको उचित फाइदा लिन मेला फलदायी हुने बताए ।

मेलामा नेपाली कृषि उत्पादन, सांस्कृतिक तथा सम्पदा झल्कने सामाग्री र नेपालको गौरव झल्काउने उत्पादका साथै कफि, चिया, पाल्पाली ढाका, सुठो, अलैंची, खुकुरी, खुकुरी रम, नेपालको मूर्तिकला तथा गहनाहरु आदिलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ । उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नाटा लगायतका संस्थाहरुले सो मेलाको आधिकारिक सहयोगीका रुपमा रहेका छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र २३ गते मंगलवार ।