काठमाडौं। अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया शुरु गरिएको घोषणा गरेकी छन्।

डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको आरोप लगाइन्। ट्रम्पमाथि आफ्ना डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिने प्रयास गरेको आरोप छ।

ट्वीटमा राष्ट्रपति ट्रम्पले पेलोसीको घोषणालाई दुराशय राखेर आफूलाई हतोत्साहित गर्ने तुच्छ कदमको सङ्ज्ञा दिएका छन्। पेलोसीले राष्ट्रपति उत्तरदायी हुनुपर्ने बताइन्।

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोन वार्ताबारे एक गुप्त सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद चर्किएको हो।
(बीबीसी समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल असोज ८ गते बुधवार ।