काठमाडौं। बागलुङकी ६५ बर्षीया महिला कोरोनाभाइरसको संक्रमणलाई जितेर निको भएकी छन्। दुई हप्ता घरमै क्वारेन्टाइनमा बस्ने गरी उनलाई शनिबारै साँझ धौलागिरी अञ्चल अस्पतालले डिस्चार्ज गरेको छ।

उनलाई आइतबार डिस्चार्ज गर्ने तयारी यसअघि गरिएको भएपनि स्वाब परीक्षणको रिर्पोट नेगेटिभ भएको थाहा पाएपछि अस्पताल व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति र चिकित्सकको टोलीको बैठक बसेर शनिबारै साँझै घर पठाएको कान्तिपुरको बागलुङ संवाददाताले कान्तिपुरमा उल्लेख गरेको हो। तेस्रो र चौथोपटकको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी निको भएको अस्पतालले जनाएको हो।

धौलागिरी अञ्चल अस्पतालमा चैत १९ गते भर्ना भएकी उनले अस्पतालको तीन साता लामो बसाईपछि सकुशल फर्कने मौका पाइन्। जनस्वास्थ्यका लागि विश्वभर चुनौती भइरहेको कोरोनाभाइरस (कोभिड १९) लाई बागलुङ नगरपालिका ३ गौंडाकोटकी यी महिलाले सजिलै जितेकी हुन्। गत चैत ४ गते कतार एयरवेजको फ्लाइटमा काठमाडौ उत्रिएर बाग्लुङ आइपुगेकी उनमा संक्रमण देखिएको थियो।

बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन्। बिदेशमा रहेका छोरी ज्वाइ भेट्न गएकी थिइन्। छोरी ज्वाई भेट्नेक्रममै कान्छो छोरालाई बिदेशमा छाडेर उनी फर्केकी थिइन्। उनले दुई सातामात्र बिदेशमा बिताएकी थिइन्। कतारदेखि काठमाडौं र काठमाडौंदेखि पोखरा हुँदै बागलुङस्थित घर आउने बेलासम्म नेपालकै पाँचौ संक्रमित १९ बर्षकी युवती र उनी सँगै थिए। ती युवती पनि धौलागिरी अञ्चल अस्पतालमै उपचार गराइरहेकी छन्। ती युवतीको चौथो पटक सम्मको स्वाब परीक्षण पोजेटिभ आएको छ।

यसअघि आज शनिबार नै काठमाडौं टेकु अस्पतालबाट पनि एक संक्रमित युवती निको भएर डिस्चार्ज भएकी छन्। नेपालका पहिलो कोरोना संक्रमित यसअघि नै निको भइसकेका छन्। यो समेत कोरोनाभाइरस संक्रमणवाट निको हुनेको संख्या ३ पुगेको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख ६ गते शनिवार ।