काठमाडौं। बडादशैंको महानवमी देखि अविरल परेको वर्षासँगै पहिरो जाँदा देशभर विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन्। केही खुलेको छ भने केही खुल्न बाँकी रहेको छ। गोरखापत्र अनलाइनका अनुसार, हाल देशभर धेरै ठाउँमा सडक अवरुद्ध छ।

पहिरोले अवरुद्ध केही सडक सुचारु भएर सञ्चालनमा आएको छ भने, केही अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एसपी शैलेन्द्र खड्काले बताएका छन्।

उनका अनुसार देशका प्रमुख रागमार्ग (हाइवे) भने पूर्णरुपमा सञ्चालनमा छ। ्प्रमुख रागमार्ग (हाइवे) पूर्णरुपमा सूचारु छ। नारायणगढ–मुग्लिन सडक बिहान ८ बजे नै खुलेको छ । पृथ्वी राजमार्ग पनि खुलेको छ। पहाडी भेगका केही जिल्लामा केही सडक अझै अवरुद्ध छ, पानी परिरहेकाले खुलाउने प्रयास जारी रहेको जनाइएको छ।

आज बिहान पृथ्वी राजमार्गको दुई ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएकोमा पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
देशभर स–साना धेरै स्थानमा पहिरोले राजमार्ग अवरुद्ध गरेको छ। बेनी, लमजुङलगायतका सडक पनि अवरुद्ध छ।

तनहुको व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालनमा आएको छ। म्याग्दे गाउँपालिका–१ गुणादीमा एकतर्फी सडक सञ्चालनमा आएको छ। राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन्।

निरन्तर वर्षा भएकाले अझै पहिरोको जोखिम देखिएकाले छ । पहिरो जानसक्ने सम्भावनालाई मध्यनजर गरी टोली तयारी अवस्थामा रहेको पनि एसपी खड्काले भनेका छन्। वर्षाले यात्रा जोखिमपूर्ण छ । आज बिहान मुग्लिन–नागढुंगा सडकखण्डको खत्रीपौवामा पनि पहिरो खसेर केहीबेर सडक अवरुद्ध भएको थियो । पहिरो खसेर धेरै ठाउँमा समस्या छ ।

साँफेबगर–मार्तडी सडकखण्डमा पनि सवारी चलेको छैन । सुर्खेत र पाल्पालगायतका सडक डिभिजनले आफ्नो क्षेत्रको बारेमा जानकारी दिइरहेकाले धेरै स्थानमा एकतर्फी भए पनि सडक भने सञ्चालनमै रहेको खड्काको भनाई रहेको छ।

एसपी खड्का अनुसार केही सडकखण्ड सञ्चालनमा रहे पनि रातको समयमा सवारी सञ्चालन गर्दा समस्या हुन्छ। डुम्रे–बेसीसरहर खण्डको उदिपुरमा पनि पहिरोले समस्या छ। बेसीसहर चामे सडकखण्डको रामबजार र खोत्रोमा पहिरो खसेर समस्या छ। मध्यपहाडी लोकमार्गअन्तर्गतका विभिन्न खण्डहरु पनि पहिरोले अवरुद्ध छ। पहिरो खुलाउन अनवरत प्रयास भैरहेको जनाइएको छ।

यता, उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता (एसपी) अवदेश विष्टका अनुसार काठमाडौं उपत्यकाको बाटोलाई पहिरोले कुनै असर गरेको देखिएको छैन। उनले भने, “उपत्यकाको सबै सडकहरु सुचारु छन्, पहिरोले त्यस्तो असर गरेको छैन ।” उपत्यकाको यातायातमा पहिरोले अवरोध नगरेको उनले बताए।
प्रकाशन मिति–२०७९ साल असोज २१ गते शुक्रवार ।