काठमाडौं। काठमाडौंको शान तथा गौरबको प्रतिकको रुपमा रहेको असन बजार हिजोआज सौरम्य अनि सफा बन्दैगएको छ। फुटपाथको पसलको कारण अति अव्यवस्थित र भीडभाडमय हुने गरेको असन देखिको इन्द्रचोक क्षेत्रको भित्री बस्तीमा फुटपाथ पसल हटाउ अभियान संचालन भएयता असन–इन्द्रचोक क्षेत्रको व्युटीफिकेसनमा बृद्धि हुन थालेको हो।

जागरुक युवा समूहले यो अभियान संचालन गर्न थालेयता अझ राम्रो बन्दैआएको हो। भित्री शहरको सुन्दरतालाई निरन्तरता दिने क्रममा विभिन्न घटना–परिघटनाले स्तब्धता पार्ने गरेको छ। राम्रोसंग नराम्रो पनि हुने गर्दछ। यसक्रममा असन –इन्द्रचोक व्युटीफिकेसन अभियानका अभियानकर्ताहरुलाई आक्रमण हुन थालेको घटनाले जागरुक युवा समूहले प्रेस विज्ञप्ति मार्फत भत्सर्ना गरेको छ।

समूहले ५० दिनसम्म आईपुग्दा फुटपाथ पसलहरु हट्दै गएको परिस्थितीमा एकाएक फुटपाथ व्यापारीहरु आक्रमणमा उत्रिन थालेको देखेर आफुहरु स्तव्ध भएको जनाएको छ । समूहका संयोजक चन्द्र महर्जनबाट हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘हिजोको दिनसम्म हामीलाई देख्ने वित्तिकै भाग्ने गरेका ती फुटपाथ व्यापारीहरु एकाएक प्रतिकारमा उत्रिने मानसिकतामा कसरी पुगे ?’

जागरुक यूवा समूहले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर भन्दै विगत ५० दिनदेखि काठमाडौंका भित्री वस्तीमा फुटपाथ पसल हटाउ अभियान संचालन गर्दै आएको छ । विगतमा अस्तव्यस्त देखिने गरेको असन ईन्द्रचोक क्षेत्र यो अभियान संचालन भएपछि व्यवस्थित देखिन थालेको छ भने पैदलयात्रुहरुलाई निकै हिँड्नका लागि सहज भएको छ ।

समूहका स्वयम्सेवकहरु हरेक दिन नगर प्रहरी र नेपाल प्रहरीको साथमा विहान बेलुका सो क्षेत्रमा निस्किँदै फुटपाथ पसलहरु हटाउन लगाउने गरेका छन् । सोही सन्दर्भमा कैयन फुटपाथ व्यापारीहरुले सडकमा पसल राख्न नै छोडेका छन् भने कत्तिले आँखा छलाउँदै पसल राख्ने गरेपनि नगर प्रहरी वा स्वयम्सेवकहरु देख्ने वित्तिकै पसल निकाल्ने गरेको समूहले जनाएको छ ।

तर गत शुक्रवार एकाएक फुटपाथ व्यापारीहरु समूहका स्वयम्सेवकविरुद्ध प्रतिकारमा उत्रिएका थिए । सो क्रममा केही फुटपाथ व्यापारीहरुले समूहका सचिव संजय महर्जन लगायत केही स्वयमसेवकहरुलाई हात समेत हालेका थिए । शनिबार र आईतबारका दिन त धारिलो हतियारसमेत लिएर फुटपाथ व्यापारीहरुले समूहका स्वयम्सेवकहरुलाई आक्रमण गर्न आएको समूहका संयोजक चन्द्र महर्जनले बताएका छन् ।

केही फुटपाथ व्यापारीहरुले जागरुक युवा समूहकै कुनै सदस्य आएर पसल राख्न हुने भनेको उल्लेख गर्दै समूहले कुनै किसिमले फुटपाथ पसललाई समर्थन नगरेको र पसल राख्न पाइने नभनेको पनि प्रष्ट पारेको छ । सडक भनेको बटुवाको लागि भएको र यहाँ पसल राख्ने दिने कुरा समूहले नगरेको भन्दै समूहका कुनै सदस्यले यस्तो भनेको भए समूहको नियम अनुसार कारवाही गर्ने समेत समूहले विज्ञप्तीमार्फत जनाएको छ ।
प्रकाशन मिति–२०७७ साल साउन १३ गते मंगलवार ।