काठमाडौं। राष्ट्रिय परीक्षा वोर्डले एक साता भित्र एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । शिक्षा पत्रकार समूहले सोमबार काठमाडौंमा गरेको छलफलमा वोर्डले देशभरका सबै विद्यालयवाट विवरण आईसकेका कारण अब एक साता भित्र नतिजा सार्वजनिक गर्ने जनाएको हो ।

परीक्षा नियन्त्रक राजाराम खकुरेलले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय अनुसार यो साता भित्र नै नतिजा निकाल्ने तयारी भईरहेको बताएका छन्। विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेकोमा यसपटक विद्यालय आफैले लेजर तयार पारेकाले त्रुटि कम हुने अनुमान गरिएको छ।

यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैथिए। तर, कोरोना महामारीका कारण परीक्षा सुरु हुनु एक दिनअघि ५ चैतमा परिक्षा स्थगित गरिएको थियो। सरकारले कोरोनाभाइरस (कोभिड–१९) का कारण परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो। यसका लागि राष्ट्रिय परीक्षा बोर्डले निर्देशिका समेत जारी गरेको छ। सोही निर्देशिका अनुसार नै नतिजा सार्वजनिक हुन लागेको हो।
प्रकाशन मिति–२०७७ साल साउन १२ गते सोमवार ।